विद्युत् नपुगेका डोल्पाका पाँच पालिकाका ७०५ घरमा सोलार वितरण

विद्युत् नपुगेका डोल्पाका पाँच पालिकाका ७०५ घरमा सोलार वितरण
फाइल तस्बिर

सुर्खेत :  विद्युत् ग्रीड नपुगेका हिमाली जिल्ला डोल्पाका पाँच स्थानीय तहमा ७०५ घरधुरीलाई सोलार (सौर्य ऊर्जा) वितरण सुरु गरिएको छ।

दुर्गम क्षेत्रका बासिन्दालाई लक्षित गरी खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, डोल्पाले यो कार्यक्रम अघि बढाएको हो।

कार्यालयका प्रमुख प्रकाश गिरीका अनुसार कुल ७०५ घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ। उहाँका अनुसार यो कार्यक्रम कुल रु एक करोड ८१ लाखको लागतमा सञ्चालन भइरहेको छ।

वितरण गरिने सोलार प्यानल तथा अन्य उपकरण सम्बन्धित पालिकाहरूमा पुर्याइएको छ।

कार्यालयले उपलब्ध गराएको जानकारीअनुसार, छार्काताङसोङ गाउँपालिकाको छ वटा वडामा रु ६६ लाख आर्थिक सहयोगमा ३५० घरधुरीलाई सोलार वितरण सुरु भएको छ।

त्यस्तै, काइके गाउँपालिकाको दलित बस्ती वनढाडामा रु २० लाखको लागतमा ७५ घरधुरीलाई सोलार वितरणको काम भइरहेको छ।

डोल्पोबुद्ध गाउँपालिका-६ मा रु २५ लाखमा ८० घरधुरीलाई सोलार वितरणको कार्य सुरु गरिएको छ भने उपल्लो डोल्पाकै शे फोक्सुण्डो गाउँपालिका-१ मा रु २० लाखमा ४५ घरधुरीलाई सोलार वितरण गरिएको कार्यालय प्रमुख गिरीले बताउनुभयो।

ठूलीभेरी नगरपालिका-११ स्थित गाउँमा स्थानीयवासी र कार्यालयको साझेदारीमा रु ३० लाखमा १५५ घरधुरीलाई सोलार वितरणको काम अन्तिम चरणमा पुगेको छ।

कर्णाली प्रदेशका विद्युत् पहुँच नपुगेका जिल्लाहरुमा विद्युत्को पहुँच विस्तार गर्ने प्रदेश सरकारको कार्यक्रमअन्तर्गत दुर्गम बस्तीमा सोलार वितरण गरिएको कार्यालयले जनाएको छ

जेठ ३१, २०८२ शनिबार ०९:००:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।