इजरायल-इरान तनाव उत्कर्षमा : शान्तिको बाटो अपनाउन संयुक्त राष्ट्रसंघ र युरोपेली संघको अपिल

एजेन्सी : इजरायल र इरानबीचको पछिल्लो आक्रमण र प्रत्याक्रमणले मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेका बेला संयुक्त राष्ट्रसंघ र युरोपेली संघले दुवै पक्षलाई संयम अपनाउन र शान्तिको बाटोमा फर्कन कडा आग्रह गरेका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसलाई तत्काल रोक्नुपर्नेमा जोड दिएका छन्।
उनले सामाजिक सञ्जाल एक्समार्फत एक सन्देश जारी गर्दै भनेका छन्, ‘इजरायलले इरानको आणविक स्थलहरूमा आक्रमण गर्छ, इरानले तेल अभिभमा मिसाइल प्रहार गरेर बदला लिन्छ। अब धेरै भयो। यसलाई रोक्ने समय आएको छ। शान्ति र कूटनीतिको बाटो अपनाउनुपर्छ।’
महासचिव गुटेरेसले यस क्षेत्रमा थप हिंसाले भयावह परिणाम निम्त्याउन सक्ने चेतावनी दिँदै सबै पक्षलाई अत्यधिक संयम अपनाउन अपिल गरेका छन्।
यसैबीच, युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग यस विषयमा छलफल गरेको जानकारी दिएकी छिन्। उनले एक्समा लेख्दै इजरायललाई आफ्नो र आफ्ना जनताको रक्षा गर्ने अधिकार रहेको कुरा दोहोर्याइन्।
तर, उनले क्षेत्रीय स्थिरता कायम राख्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेकोमा जोड दिइन्। भोन डेर लेयनले दुवै पक्षलाई संयम अपनाउन र तनाव कम गर्न पनि कडा आग्रह गरेको बताएकी छिन्।
गत शुक्रबार इजरायलले इरानका विभिन्न स्थानमा आक्रमण गरेपछि इरानले त्यसको बदलामा इजरायलमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। त्यसयता दुई देशबीच तनावको अवस्था कायमै छ, जसले अन्तर्राष्ट्रिय समुदायलाई चिन्तित बनाएको छ।
जेठ ३१, २०८२ शनिबार ०८:०९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।