डा. मनिषाको उपचार अनुभव : दाँत किराले खाएर फत्र्याक-फत्र्याक परेकी ती महिला धामीको ‘क्लिनिक’ गएपछि...

दन्तरोग विशेषज्ञ डा. मनिषा न्यौपानेले आफ्नो लामो चिकित्सकीय यात्रामा सयौँ बिरामीको दाँतको उपचार गरेर उनीहरूलाई सञ्चो बनाएकी छिन्। उनले चिकित्सकीय पेशाको सिलसिलामा विभिन्न आरोह अवरोहका अनुभवहरू सँगालेकी छिन्। उनै डा. मनिषाले चिकित्सकीय पेशाको दौरान देखे भोगेका अनुभवहरू उकेरासँग साटेकी छिन्:
अस्पताल छोडेर धामी पछ्याएपछि...
दाँतमा कुनै समस्या भए उपचारका लागि अस्पताल वा दन्त चिकित्सककहाँ पुग्नुपर्ने हो। तर, अझै पनि दाँतको दुखाइ लगायतका समस्या हुँदा अस्पताल नगई उपचारका लागि धामी झाँक्रीकहाँ पुग्ने व्यक्तिको संख्या बाक्लै रहेको डा. मनिषाले अनुभव सुनाइन्। कयौं बिरामीहरू धामीझाँक्रीकहाँ गएर झारफुक गरेपछि पनि ठिक नभएपछि मात्रै दाँतको उपचारका लागि अस्पताल पुग्ने गरेको उनले बताइन्।
धामीझाँक्रीकहाँ गएर झारफुक गरेपछि पनि ठिक नभएर एक जना महिला अस्पताल पुगेको यस्तै एउटा मार्मिक प्रसङ्ग सम्झिन्छिन्, डा. मनिषा। प्रसङ्ग केही महिनाअघिको मात्रै हो। करिब ४० वर्षकी ती महिलालाई दाँत दुखेर साह्रै सताएछ। दाँतको दुखाइले सताएर ती महिला फत्र्याक-फत्र्याक भइरहेकी थिइन्। सामान्य लेखपढ गर्न पनि नजानेकी ती महिलाको दुखेको दाँत निको पारिदेलान् भन्ने पहिलो भरोसा नै धामी थिए।
त्यसैले एक दिन ती महिला दाँतको उपचारका लागि अस्पतालमा हैन, अस्पताल नजिकै रहेको धामीको ‘क्लिनिक’मा पुगिछन्। धामीले ती महिलाको दाँतमा झारफुक गरिदिएछन्। दुखेको दाँत निको हुने आश्वासन पनि दिएछन्। दाँत फुके बापत ती महिलाले धामीलाई केही भेटी पनि चढाइन्। तर, धामीले जति झारफुक गरे पनि ती महिलाको दाँत दुख्ने समस्या ठिक भएन।
दाँतमा भएको समस्याका कारण ती महिलाको गाला झन् सुन्नियो। त्यसपछि मात्रै ती महिला दाँतको उपचारका लागि भौंतारिँदै धामीको ‘क्लिनिक’ नजिकै रहेको अस्पताल पुगिछन्।
अस्पतालमा डा. मनिषाको टिमले ती महिलाको दाँतको एक्स-रे लगायतको जाँच गर्यो। जाँच गर्दा ती महिलाको एउटा दाँत किराले खाएर दाँतको जरासम्म नै संक्रमण फैलिएको देखियो। संक्रमणका कारण गाला पनि सुन्निएको थियो। त्यसैले ती महिलाको दाँतको उपचारका लागि ‘रुट क्यानल ट्रिटमेन्ट’ (आरसीटी) विधि अपनाउनुपर्ने थियो। यो दाँतको जरासम्म नै उपचार गर्ने विधि हो।
डा. मनिषाले ती महिलाको दाँतमा भएको समस्या पत्ता लगाएपछि ‘आरसीटी’ उपचार प्रक्रिया सुरू गरिन्। किराले खाएको दाँतको जरा सफा गरेर संक्रमण कम गर्ने औषधि पनि प्रयोग गरिन्। दाँतको जरैबाट उपचार गर्ने ‘आरसीटी’ सुरू गरेलगत्तै दुखाइ कम भइहाल्यो।
उपचार सुरू गरेपछि सुन्निएको पनि कम हुँदै गयो। एक हप्तामा त सुन्निएको पूरै कम भयो। ती महिलालाई अस्पताल भर्ना भने गर्नु परेन। उनलाई फलोअपमा नै बोलाएर उपचार गरियो। चार पटकको फलोअप र उपचारपछि ती महिलाको किराले खाएको दाँतको समस्या ठिक भयो।
दाँतको समस्या ठिक भएर दुखाइ ठिक भएपछि त ती महिला नरमाउने कुरै भएन। केही समय धामीको भर परेर दुःख पाए पनि ती महिला अस्पताल पुगेपछि भने दाँतको समस्या पूर्ण रूपमा ठिक भयो। दाँतको दुखाइ ठिक भएर ती ४० वर्षीय महिला रमाउँदै घर फर्किएको त्यो खुसीको प्रसङ्ग सम्झँदा डा. मनिषालाई अझै आनन्द लाग्छ।
‘दाँतमा ल्वाङको तेल हाल्दा छाला जल्ला है!’
दाँत दुखेको अवस्थामा दुखाइ कम हुन्छ भनेर धेरै व्यक्तिहरूले दाँतमा ‘बजारिया’ ल्वाङको तेल हाल्ने गरेको पाइन्छ। ल्वाङको तेलले क्षणिक रूपमा दाँतको दुखाइ कम भएको जस्तो भए पनि त्यसको नकारात्मक असर धेरै हुने डा. मनिषाले बताइन्।
ल्वाङको तेलले दाँतको वरिपरिको छाला तथा मांसपेशी नै जलाएको पाइएको समेत डा. मनिषाले अनुभव सुनाइन्। यसरी दाँतमा ल्वाङको तेल हाल्दा दाँतको वरिपरिको छाला जलेका धेरै व्यक्तिको आफूले उपचार गरेको उनले बताइन्। त्यसैले दाँत दुखेको खण्डमा ल्वाङको तेल नलगाउन उनको सुझाव छ।
उमेर समूह अनुसार दाँतको समस्या पनि फरक-फरक हुन सक्छन्। विशेषगरी बालबालिकाहरू हल्लिएको ‘दुधे दाँत’ निकाल्न दन्त चिकित्सककहाँ पुग्ने गरेको उनको अनुभव छ। वयस्क व्यक्तिहरू विशेषगरी कीराले खाएको दाँत भर्न तथा आरसीटी गर्न अस्पताल पुग्छन्।
पाको उमेरका व्यक्तिहरू भने विशेषगरी गिजाले दाँतको भाग छोडेका कारण दाँत हल्लिने तथा दुख्ने जस्ता समस्या लिएर अस्पताल पुग्ने गरेको उनले अनुभव सुनाइन्। नेपालमा सबै किसिमको दाँतको उपचार हुने र नियमित रूपमा दाँत सफा गरेर दाँत मजबुत कायम राख्न सकिने उनको सुझाव छ।
अमिलो खानेबित्तिकै दाँत नमाझौँ ल!
त्यसैगरी, नियमित रूपमा दाँत नै कुँडिने गरी धेरै अमिलो नखान समेत डा. मनिषाको सुझाव छ। अमिलोमा ‘साइट्रिक एसिड’ हुन्छ। अमिलोमा हुने त्यो एसिडले दाँतको बाहिरी पत्र ‘इनामेल’लाई क्षति पुर्याउँछ। यसरी दाँतको इनामेललाई अमिलोले क्षति पुर्याउँदा दाँत कमजोर भएर कुँडिने अनि सिरिङ-सिरिङ गर्ने समस्या हुन्छ।
त्यसैले नियमित रूपमा धेरै अमिलो नखान डा. मनिषा सुझाव दिन्छिन्। अमिलो खानेबित्तिकै ब्रस गर्दा अमिलोले दाँतको इनामेललाई बढी क्षति गर्ने भएकाले दाँत कम्जोर हुन्छ। त्यसैले अमिलो खानासाथ दाँत माझ्न समेत नहुने उनको भनाइ छ।
जन्म दाङ, अध्ययन ‘बीडीएस’ देखि ‘एमडीएस’ सम्मको यात्रा
दाङको मानपुरमा जन्मिएकी डा. मनिषाका बुवा सरकारी विद्यालयका शिक्षक हुन्। बुवा बाँकेको कोहलपुरमा पढाउने भएकाले बुवाआमासँगै उनी पनि उतै हुर्किइन्। उतै पढिन्। मनिषाले कोहलपुरकै ‘श्री बाल विद्या मन्दिर हाइयर सेकेन्डरी स्कुल’ बाट २०६५ सालमा एसएलसी गरिन्। एसएलसीपछि उनी काठमाडौं आएर भीएस निकेतन कलेजबाट प्लस टु गरिन्।
मनिषालाई सानैबाट डाक्टर बन्ने सपना थियो। त्यसैले उनले प्लस टु पछि एमबीबीएस अध्ययनका लागि तयारी गरिन्, अनि छनोट परीक्षा दिइन्। पहिलो चरणमा उनले छात्रवृत्ति कोटामा एमबीबीएस हैन, दन्त चिकित्सा (ब्याचलर अफ डेन्टल सर्जरी/बीडीएस) विषय अध्ययन गर्ने मौका पाइन्। अर्को वर्ष पर्खिएर एमबीबीएस नै पढौँ कि जस्तो लागेको थियो उनलाई।
तर, आफन्त लगायत धेरै जनाले उनलाई दन्त चिकित्सा विषय पनि राम्रो विषय भएकाले यो विषय अध्ययन गर्न सुझाव दिए। आफन्त लगायतको सुझावलाई समेत मनन गरेर मनिषाले दन्त चिकित्सा (बीडीएस) विषय नै अध्ययन गर्ने निर्णय लिइन्। उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत चितवन मेडिकल कलेजमा सन् २०११ मा भर्ना भएर बीडीएस अध्ययन गर्न थालिन्। सन् २०१६ मा उनको बीडीएस अध्ययन पूरा भयो।
डा. मनिषाले सरकारी छात्रवृत्ति कोटामा बीडीएस अध्ययन गरेकी हुन्। सरकारी छात्रवृत्ति कोटामा अध्ययन गरेवापत उनले दुई वर्ष अनिवार्य छात्रवृत्ति करारमा काम गर्नु पर्ने थियो। त्यसैले डा. मनिषा छात्रवृत्ति करारमा काम गर्नका लागि दैलेख जिल्ला अस्पताल पुगिन्। त्यहाँ उनले करिब एक वर्ष काम गरिन्।
त्यसपछि डा. मनिषा २०७५ सालमा लोकसेवा परीक्षामार्फत स्थायी सरकारी चिकित्सकका रूपमा जागिरे भइन्। उनी आठौं तहको डेण्टल सर्जनका रूपमा सरकारी जागिरमा प्रवेश गरिन्। सरकारी जागिरमा प्रवेश गरेपछि डा. मनिषा पहिलो पोष्टिङ भएर गुल्मी जिल्ला अस्पताल पुगिन्। त्यहाँ उनले अस्पतालको दन्त विभागको प्रमुख भएर करिब नौ महिना काम गरिन्।
गुल्मीपछि डा. मनिषा सरुवा भएर दाङको तुलसीपुरस्थित राप्ति प्रादेशिक अस्पताल पुगिन्।
प्राथमिकतामा दाँतको जराको उपचार (एमडीएस)
डा. मनिषालाई थप अध्ययन गर्नु त छँदै थियो। नभन्दै उनले सरकारी छात्रवृत्ति कोटामा नै थप अध्ययन गर्ने अवसर समेत पाइन्। उनी सुनसरिको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘मास्टर्स अफ डेण्टल सर्जरी (एमडीएस)’ विषय अध्ययनका लागि सन् २०२१ मा भर्ना भइन्।
डा. मनिषाले स्नातकोत्तर तहको ‘एमडीएस’ अध्ययनमा विशेषगरी दाँत भर्ने र दाँतको जराको उपचार गर्ने सम्बन्धी ‘कन्जर्भेटिभ डेन्ट्रीष्ट्री एण्ड इन्डोडोन्टिक्स’ विषय छनोट गरिन्। यो विषय अध्ययन गरेका चिकित्सकको प्राथमिकतामा दाँत भर्ने तथा दाँतको जरैबाट 'रुट क्यानल ट्रिटमेन्ट' (आरसीटी) गरी दाँत जोगाउने चिकित्सकीय विधा पर्छ।
सन् २०२४ मा उनको ‘एमडीएस’ अध्ययन पूरा भयो। ‘एमडीएस’ अध्ययनपछि डा. मनिषा फर्किएर राप्ति प्रादेशिक अस्पताल नै पुगिन्। हालसम्म राप्तीमा नै कार्यरत दन्तरोग विशेषज्ञ डा. मनिषा अस्पतालको दन्त चिकित्सा विभागको प्रमुखको जिम्मेवारीमा समेत छिन्। विशेषगरी दाँत सम्बन्धी समस्या भएर अस्पताल पुगेका बिरामीको उपचार गरी सञ्चो बनाउनु उनको दैनिकी हो।
कयौं बिरामीले भने महिला चिकित्सकलाई चिकित्सकका रूपमा नबुझ्ने गरेको उनले अनुभव सुनाइन्। कयौं बिरामीहरूले पुरुष डाक्टरलाई ‘डाक्टरसाप’ भनेर सम्बोधन गरे पनि महिला डाक्टरहरूलाई भने ‘सिस्टर’ भन्दै सम्बोधन गर्ने गरेको डा. मनिषाको अनुभव छ।
जेठ ३१, २०८२ शनिबार ११:०२:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।