इजरायल-इरान तनाव उत्कर्षमा : इजरायलको आक्रमणपछि इरानको जवाफी हमला, दुवै पक्षबाट धम्की

काठमाडौं : इरानले इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको केही घण्टापछि इजरायलले पनि इरानभित्र लक्षित जवाफी हमला गरेको छ। यस घटनाले मध्यपूर्वमा लामो समयदेखि जारी रहेको तनावलाई थप उत्कर्षमा पुर्याएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्डले एक विज्ञप्ति जारी गर्दै इजरायलमा ‘दर्जनौं लक्ष्य, सैन्य केन्द्र र हवाई अड्डाहरू’मा सफल आक्रमण गरेको दाबी गरेको छ। गार्डले यस अपरेशनलाई ‘ट्रु प्रोमिस ३’ नाम दिएको र थप विवरण पछि दिइने बताएको छ। इरानी आक्रमणबाट इजरायलको तेल अभीभ महानगरीय क्षेत्रमा कम्तीमा पाँच जना घाइते भएको इजरायली राष्ट्रिय एम्बुलेन्स सेवाले पुष्टि गरेको छ। उनीहरूलाई अस्पताल भर्ना गरिएको छ।
इरानी आक्रमणपछि इजरायली सेनाले आफ्नो रक्षा प्रणालीले इरानबाट आएको खतरालाई रोक्न प्रयास गरिरहेको जानकारी दिँदै सर्वसाधारणलाई अर्को सूचना नआएसम्म घरभित्रै सुरक्षित रहन आग्रह गरेको छ। इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इरानले इजरायललाई ‘ठूलो क्षति’ पुर्याउने चेतावनी दिएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार इरानी आक्रमणका क्रममा जेरुसेलमको आकाशमा चम्किलो प्रकाश देखिएको थियो र विस्फोटको आवाज सुनिएको थियो।
यो आक्रमण केही घण्टाअघि इजरायलले सिरियाको दमास्कसमा रहेको इरानी वाणिज्य दूतावास नजिक आक्रमण गरी इरानी रिभोलुसनरी गार्डका वरिष्ठ कमाण्डर हुसेन सलामी लगायत धेरै सैन्य अधिकारी र आणविक वैज्ञानिकहरूलाई मारेको घटनाको बदलामा भएको मानिएको छ। इजरायलले उक्त कारबाहीलाई ‘अपरेशन राइजिङ लायन’ नाम दिएको बीबीसीले जनाएको थियो।
इरानको आक्रमणपछि इजरायलले पनि तत्काल जवाफी कारबाही थालेको छ। इजरायली वायुसेनाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक पोस्टमा लेख्दै ‘धेरै इरानी मिसाइल प्रक्षेपणकर्ता र सैन्य प्रतिष्ठानहरू विरुद्ध आक्रमण जारी रहेको’ बताएको छ। इजरायलले इरानलाई ‘विश्वका लागि खतरा’ को रूपमा चित्रण गरेको छ।
इजरायली जवाफी हमलामा इरानको उत्तरपश्चिमी शहर तब्रिजमा रहेको सैन्य हवाई अड्डा र इरानको आणविक कार्यक्रमको केन्द्र मानिने नातान्जमा रहेको सबैभन्दा ठूलो युरेनियम संवर्धन केन्द्रलाई निशाना बनाइएको रिपोर्ट आएका छन्। तब्रिजको हवाई अड्डाबाट कालो धुवाँको मुस्लो उठिरहेको एक भिडियो बीबीसीले पुष्टि गरेको जनाएको छ।
आफ्नो भूभागमा इजरायली आक्रमणपछि इरानले यसको ‘मूल्य चुकाउनुपर्ने’ भन्दै इजरायल र अमेरिकालाई चेतावनी दिएको छ। यस बढ्दो तनावलाई मध्यनजर गर्दै इजरायलले देशभरी आपतकाल घोषणा गरेको छ। अवस्था अझै तनावपूर्ण रहेको र दुवै पक्षबाट थप कारबाही हुनसक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
जेठ ३१, २०८२ शनिबार ०७:१६:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।