मौसम पूर्वानुमान : राति यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं : शनिबार राति देशका केही प्रदेशहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशमा मनसुनी वायु, पश्चिमी वायु तथा स्थानीय वायुको मिश्रित प्रभावले हाल गण्डकी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
गण्डकी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षासमेत भएको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी र मधेश प्रदेशसहित पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा वा हिमपातको पनि सम्भावना छ।
राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
विशेषगरी, राति कोशी र मधेश प्रदेशका थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।
उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा वा हिमपातको पनि सम्भावना छ।
जेठ ३१, २०८२ शनिबार ०६:५२:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।