राजीनामाको खड्गो टर्दा मक्ख गृहमन्त्री लेखक, तर अझै शंकाकै घेरामा

राजीनामाको खड्गो टर्दा मक्ख गृहमन्त्री लेखक, तर अझै शंकाकै घेरामा
तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं : भिजिट भिसामा गृह प्रशासनको कर्मचारी पक्राउ पर्दा गृहमन्त्रीको राजीनामा वा छानबिन गर्न संसदीय समितिको माग लिएर प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित प्रतिपक्षी दल अडिँदा रमेश लेखकमाथि राजीनामाको दबाब बढिरहेको थियो।

आरोप लागे लगत्तै प्रारम्भमै उनले प्रतिनिधि सभामा अनुसन्धानबारे जानकारी दिने प्रयास गरेका थिए। तर प्रतिपक्षी दलहरूको निरन्तर अवरोधका कारण उनले संसदमा बोल्न पाएनन्, संसद् भवन भित्रको एक कक्षमा पत्रकार सम्मेलन गरेर चित्त बुझाउने प्रयास गरे पनि सफल भएनन्।

भिजिट भिसाको आवरणमा भएका बदमासीको फेहरिस्त एकपछि अर्को गर्दै सार्वजनिक हुँदा उनीमाथि राजीनामाको दबाब कायमै रह्यो। उनलाई राजीनामा गराउन राष्ट्रिय स्वतन्त्र पार्टी बढी नै सक्रिय देखियो। माओवादी केन्द्रले पनि साथ दियो। राप्रपा र एकीकृत समाजवादी पनि मिसिएकै थिए।

प्रमुख प्रतिपक्षीसहित सबै प्रतिपक्षी दल एकमत भएर निरन्तर राजीनामा माग्दै संसद् अवरोध गरिरहँदा बजेटमाथिको छलफल ठप्पै भएको थियो। लेखकको राजीनामाको दबाब बढेसँगै कांग्रेसभित्र राजीनामा गर्ने कि भन्नेबारे छलफल नभएको हैन।

तर सरकारको नेतृत्व गरेको दल एमाले प्रतिपक्षी दलको माग सम्बोधन गर्न सहमत भएन। उ प्रमुख प्रतिपक्षी दलसँग सहमतिका लागि संवादको पक्षमा समेत उभिएन। नेपाली कांग्रेसले माओवादी केन्द्र अनि रास्वपा दुवै दलसँग संवाद गरेर संसद् खोल्ने प्रयास जारी राख्यो। तर एमाले मुख्य सचेतक महेश बर्तौलाले प्रस्टै अब संसद्को अवरोध खुलाउने जिम्मा प्रमुख प्रतिपक्षी दलको भनेर प्रतिक्रिया दिए।

कांग्रेस सभापति शेरबहादुर देउवाको प्रयासमा कांग्रेस, एमाले अनि माओवादी एकै ठाउँमा बसेर संसद्को गतिरोध हटाउनेबारे छलफल गर्ने वातावरण बन्यो। यो विषयमा माओवादी पहिलो दिन देखि नै माओवादी केन्द्र नरमै थियो। एमालेसँगको सहकार्यमा तितो सम्बन्ध छँदैछ, यो विषयलाई लम्ब्याउँदा कांग्रेससँगको सम्बन्ध पनि बिग्रन सक्ने भयले माओवादी संसद् बैठक चल्न दिन बहानाका लागि दुई बुँदेमा सहमत भयो।

रास्वपा र राप्रपा सहमत नभए पनि माओवादीको साथ पाएपछि सभामुख पनि नाराबाजीकै बिचमा संसद्को कार्यसूची अनुसार बैठक अगाडि बढाउन राजी भए र शुक्रवार रास्वपाको सांसदहरूको नाराबाजीकै बिचमा गृहमन्त्री लेखकलाई बोल्न दिँदै उनले बैठकलाई अगाडि बढाए।

माओवादी संसद् खोल्ने सर्तका रूपमा गृहमन्त्री लेखकको राजीनामा वा संसदीय छानबिन समितिमा अडिएको भए संसद् खुलाउन राजीनामाको अर्को विकल्प तत्काल देखिएको थिएन। तर माओवादी केन्द्र अमूर्त सर्तमै सहमत हुँदा तत्काल राजीनामाको सङ्कटबाट लेखक जोगिए।

त्यसको खुसी शुक्रवार संसदमा बोल्दै गर्दा उनको बोली र मुहारमा प्रस्टै देखिन्थ्यो। संसद् अवरोध हुँदा टाउकोमा हात राखेर दिक्क मानेर संसद्को कुर्सीमा बस्ने लेखक शुक्रवार रोस्टममा उभिएर प्रतिपक्षी दलका सांसदहरूलाई चुनौती दिइरहेका थिए।

अख्तियारको अनुसन्धान जारी छ। अख्तियारको अनुसन्धान र त्यसपछिको गृह प्रशासनको व्यवहार शंकाको दायराभन्दा बाहिर छैन। तत्काल राजीनामाको खड्गो त टारे लेखकले। तर उनी अझै शंकाको घेरा बाहिर भने छैनन्।

जेठ ३०, २०८२ शुक्रबार २२:२५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।