सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा दुई जना पक्राउ

सङ्खुवासभा : जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालबाट फोटो, भिडियो सार्वजनिक गर्दै चरित्रहत्या गर्ने दुईजनालाई विद्युतीय अपराध अन्तर्गत पक्राउ गरिएको प्रहरीले जनाएको छ।
षडानन्द नगरपालिका-१ का २९ वर्षीय सुजन भुजेल र सोही ठाउँमा २१ वर्षीय बिपल राई उपर उजुरी परेकाले उनीहरूलाई सदरमुकाम खाँदबारीबाट शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए।
पक्राउ परेका भुजेल र राईमाथि सङ्खुवासभा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्लामा विद्युतीय अपराधमा यो वर्ष तीन जना पक्राउ परिसकेका छन्।
विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ ले कसुरमा पाँच वर्षसम्म कैद वा रु एक लाखसम्म जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ।
जेठ ३०, २०८२ शुक्रबार २१:२८:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।