माओवादी ब्याक हुँदा नाराबाजी गर्न संसद्मा रास्वपा एक्लै पर्यो, राप्रपाले उभिएर दियो साथ

काठमाडौं : दुई बुँदे सहमतिसँगै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसद् अवरोध नगर्न सहमत भएसँगै शुक्रवार गृहमन्त्री रमेश लेखकले संसद्मा बोल्न पाए।
भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई अख्तियारको अनुसन्धानमा तानिएपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरोध गर्दै आएका थिए।
जेठ १५ मा बजेट पेस गर्न अवरोध हटाएका प्रतिपक्षी दलहरू त्यसयता निरन्तर विपक्षमा उभिएपछि बजेटबारे संसद्मा बहस हुन सकेको छैन। शुक्रवार माओवादी केन्द्र र सत्ताधारी दलको तर्फबाट एमालेका प्रमुख सचेतकबीच सहमति भएसँगै संसद् बैठक त बस्यो तर अवरोधहीन भने हुन सकेन।
सभामुख देवराज घिमिरेले माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूलाई बोल्न समय दिएपछि गृहमन्त्री लेखकलाई बोल्ने समय दिएका थिए। जब लेखक बोल्न रोस्टमतिर लागे रास्वपाका सांसदहरू अवरोध गर्न बेल घेर्न अगाडि बढे। राप्रपाका सांसदहरू भने संसद्मा आफ्नो सिटमा उभिएका थिए।
बेल घेराउका लागि रास्वपाका नेताहरू अगाडि बढेर मानव तस्करीको छानबिन गर, गृह मन्त्री राजीनामा दे भनेर नाराबाजीमा उत्रिएपछि मर्यादापालकहरू बेल अगाडि उभिएका थिए। गृहमन्त्री अवरोधकैबीच सभामुखले सदनको काम अगाडि बढाएपछि नाराबाजीकै बिचमा लेखकले आफ्नो स्पष्टीकरण दिइरहे।
लेखकले भिजिट भिसा प्रकरणलाई राजनीतिक प्रतिशोधको रूपमा लिने र आफ्ना विरुद्धमा नियोजित आक्रमण भएको दाबी गर्दै प्रमाण नभएको अवस्थामा राजीनामा माग गर्नु अनुचित भएको तर्क गरेका थिए।
नक्कली पीडित बनाएको दाबी
गृहमन्त्री लेखकले संसद्मा आफ्ना विरुद्धमा केही पार्टी कार्यालयहरूमा नक्कली पीडितहरू खडा गरी जाहेरी दर्ता गराउने प्रयत्न भएको गम्भीर आरोप समेत लगाए। उनले भने, "मलाई थाहा छ, केही पार्टीका कार्यालयहरूमा नक्कली, तथाकथित पीडितहरूलाई बोलाएर पार्टी कार्यालयमा जाहेरीहरू लेखेर मेरा विरुद्धमा विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइरहेका छन्।"
रास्वपाका सांसदहरूले सामाजिक सञ्जालमार्फत भिजिट भिसामा विभिन्न देश गएकाहरूसँग भएका प्रमाणहरू मागेका थिए। केही सांसदहरूले २ हजार बढी प्रमाण आएको दाबी गरे पनि उनीहरूले सार्वजनिक गरेका छैनन्।
उनले कुन पार्टी कार्यालयमा यस्तो काम भएको भन्ने विषयमा आफूलाई जानकारी भइसकेको र यस्ता नक्कली पीडित खडा गर्ने व्यक्तिहरूको पत्ता लगाएर कारबाही गरिने चेतावनी दिए। उनले रास्वपा लक्षित आरोप लगाए पनि दलको नाम भने लिएनन्।
"त्यस्ता किर्ते, जालसाजी काम गरेर राजनीतिक अभीष्ट पूरा गर्ने काममा नलाग्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु," गृहमन्त्री लेखकले भने।
उनले यस्ता अपमानजनक कार्यहरू र जालसाजी गरेर नक्कली पीडित खडा गर्ने व्यक्तिहरूको पत्ता लगाएर कारबाही गरिने दोहोर्याए।
रास्वपालाई संकेत गर्दै उनले भने, "तपाईँका पार्टी कार्यालय किर्ते, जालसाजीपूर्ण पीडितहरू तयार गर्ने पार्टी कार्यालय बन्दैछन्।"
गृहमन्त्री लेखकले आफू लोकतन्त्र र सुशासनका लागि वर्षौँदेखि लडिरहेको र संवैधानिक निकायको काममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भिजिट भिसा प्रकरणमा कार्यालय प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारले बोलाएको विषय सञ्चारमाध्यमबाट थाहा पाएको र यसमा आफ्नो कुनै संलग्नता नभएको दाबी समेत गरे।
‘सामाजिक सञ्जालका आरोप निराधार’
उनले सामाजिक सञ्जालमा आफूलाई लक्षित गरेर लगाइएका सबै आरोपहरू पूर्णतः निराधार भएको दाबी गरे। "ती अभिव्यक्तिमा कुनै सत्यता छैन। उक्त कार्यमा मेरो कुनै संलग्नता छैन र हुन सक्दैन," उनले स्पष्ट पारे।
उनले आफू श्रमन्त्रीहुँदा वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई ठगिनबाट जोगाउन श्रम ऐनको मस्यौदा गरेर संसदबाट पारित गरेको, चार वटा देशसँग श्रम सम्झौता गरेको भन्दै नाराबाजी गरिरहेका पूर्व श्रममन्त्री तथा रास्वपा सांसद डीपी अर्याल लक्षित गर्दै प्रश्न गरे ‘यहाँ नाराबाजी गरिरहेका माननीयज्यू पनि श्रममन्त्री हुनुभएको थियो। तपाईँले श्रम ऐनको एउटा बुँदा संशोधन गर्न भयो?, एउटा देशसँग श्रम सम्झौता गर्नुभयो?’
उनले सम्बोधनमा यस अगाडि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको भिजिट भिसा सम्बन्धी विवरणहरू संसद्मा राखेका थिए। उनले आफू अध्यागमनको प्रणालीगत सुधारका लागि प्रतिबद्ध रहेको दाबी गर्दै पटक-पटक आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा विरोध भइरहेको पटक-पटक दाबी गरेका थिए।
गृहमन्त्रीको सम्बोधन सकिएपछि राप्रपाका सांसदहरू कुर्सीमा बसे तर रास्वपाका सांसदहरूले नाराबाजी कायमै राखे। अनि सभामुख घिमिरेले संसद् सचिवालयलाई सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट एकीकृत समाजवादीका अध्यक्ष तथा सांसद माधव नेपालविरुद्ध मुद्दा दर्ताबारे आएको पत्र पढेर सुनाए। उनले पत्र पढ्दा पनि नाराबाजी जारी थियो। पूर्व सांसदको मृत्युमा शोक बनाउने प्रस्तावमा भने रास्वपाका सांसदहरू मौन बसे। अनि घिमिरेले संसद् बैठक असार १ गते ११ बजेसम्मका लागि स्थगित भएको घोषणा गरे।
जेठ ३०, २०८२ शुक्रबार २१:०९:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।