मङ्गलबारेकी हिराले जन्माइन तिम्ल्याहा शिशु

ओखलढुङ्गा : ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका-६ श्रीचौर मङ्गलबारेमा महिलाले एकैपटक तीन वटा बच्चा जन्माएकी छन्। मङ्गलबारेका ३२ वर्षीया हिरा तामाङले आज ओखलढुङ्गा सामुदायिक अस्पतालमा तीन छोरीलाई जन्म दिएकी हुन्।
बिहीबार प्रश्रव व्यथा लागेर अस्पताल भर्ना भएकी तामाङले शुक्रबार बिहान १०ः४० देखि १०ः४२ सम्ममा तीन स्वस्थ शिशुलाई जन्मदिएको अस्पतालका निर्देशक डा रोशन खरेलले जानकारी दिए। उनका अनुसार डा रमिता कँडेल नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरी हिराका छोरीलाई जन्म गराएका हुन्।
तीनमध्ये पहिलो छोरीको तौल १९ सय ग्राम, दोस्रोको २२ सय ग्राम र तेस्रो छोरीको तौल २३ सय ग्राम रहेको अस्पतालले जनाएको छ। उनको ३६ हप्तामा शल्यक्रियामार्फत शिशु निकालिएको अस्पतालका निर्देशक डा खरेलले बताए। उनका अनुसार शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य छ।
यसअघि उनका एक सात वर्षीय छोरा छन्। ओखलढुङ्गामा सम्भवतः एकै पटक तीन वटा शिशु जन्मिएको यो पहिलो घटना भएको अस्पतालले जनाएको छ।
जेठ ३०, २०८२ शुक्रबार २१:०३:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।