गृहमन्त्रीलाई रास्वपा सांसद झाको प्रश्न- आफ्नै मन्त्रालयमा के भइरहेको छ भन्ने थाहा छैन भने के को मन्त्री ?

गृहमन्त्रीलाई रास्वपा सांसद झाको प्रश्न- आफ्नै मन्त्रालयमा के भइरहेको छ भन्ने थाहा छैन भने के को मन्त्री ?
तस्विर : दिपेश श्रेष्ठ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (राष्वपा) का सांसद मनिष झाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नेतृत्वमा लुट भएको गम्भीर आरोप लगाएका छन्। उनले आफ्नै मन्त्रालयमा के भइरहेको छ भन्ने थाहा छैन भने के को मन्त्री ? भन्दै प्रश्न गरे।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृहमन्त्रालयलाई ९ पटकसम्म पत्र काटेर अध्यागमनमा बदमासी भइरहेको जानकारी गराएको भन्दै गृहमन्त्रालयको भूमिकामाथि प्रश्न उठाए।
सांसद झाले भने, ‘अख्तियारले अध्यागमनमा बदमासी भइरहेको छ त्यहाँ ध्यान देउ भनेर गृहमन्त्रालयलाई ९/९ पटक पत्र काट्दासम्म गृहमन्त्रालय कहाँ थियो। जब अख्तियारले त्यहाँ धावा बोल्ने बेला भयो तब सबै आफ्नो कर्मचारीहरूलाई लुकाउनको लागि रातारात किन तानियो?’

उनले गृहमन्त्रीको संलग्नता नभएको भनाइमाथि प्रश्न उठाउँदै भने, ‘यदि उहाँको संलग्नता छैन, उहाँलाई जानकारी थिएन भने कर्मचारीलाई संरक्षण दिनको लागि किन तानियो?’

झाले कर्मचारीहरूको सरुवालाई लिएर पनि गम्भीर आरोप लगाए। उनले भने, ‘कर्मचारीलाई तानिसकेपछि तामेलीमा मन्त्रालयमै राख्न सक्थ्यो। त्यसलाई रोल्पा, डोल्पा सरुवा गरेर अनुसन्धान प्रभावित गर्न खोजेको पनि प्रमाणित छ।’

सांसद झाले दैनिक नयाँ प्रमाणहरू सार्वजनिक भइरहेको बताए। सांसद झाले यस विषयको छानबिनका लागि छानबिन समिति गठन गर्न माग गर्दै भने, ‘त्यसकारण यसको छानबिन गर्नको लागि छानबिन समिति र ठगिएकाहरूले न्याय नपाएसम्म हाम्रो आन्दोलन जारी छ।’ 

जेठ ३०, २०८२ शुक्रबार १८:२२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।