मेरा विरुद्ध षड्यन्त्र भयो, सहसचिवलाई अख्तियारमा बोलाएको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको हुँ : गृहमन्त्री लेखक

मेरा विरुद्ध षड्यन्त्र भयो, सहसचिवलाई अख्तियारमा बोलाएको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको हुँ : गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई जोडेर आएका समाचारहरूमा कुनै सत्यता नभएको दाबी गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफ्ना विरुद्धमा नियोजित, षड्यन्त्रपूर्वक ढंगले र राजनीतिक रूपले आक्रमण गर्ने प्रयत्न भएको दाबी गरे।

गृहमन्त्री लेखकले भने, ‘मेरा विरुद्धमा नियोजित र षड्यन्त्रपूर्वक ढंगले राजनीतिक रूपले आक्रमण गर्ने प्रयत्न भएको छ। जसलाई सम्मानित सदनबाट खेद व्यक्त गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु।’

उनले भिजिट भिसा सम्बन्धित विषयमा सोधपुछको लागि आयोगबाट बोलाएर सञ्चारमाध्यमबाट थाहा पाएको भन्दै यसमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारे।

गृहमन्त्री लेखकले भने, ‘कार्यालय प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई भिजिट भिसा सम्बन्धित विषयमा सोधपुछको लागि आयोगबाट बोलाएको सञ्चारमाध्यमबाट थाहा पाएको हुँ। यसमा मेरो पनि संलग्नता छ भनेर सामाजिक सञ्जालमा आएको हो।’

उनले थपे, ‘ती अभिव्यक्तिमा कुनै सत्यता छैन। उक्त कार्यमा मेरो कुनै संलग्नता छैन र हुन सक्दैन।’
गृहमन्त्रीले सामाजिक सञ्जालमा आफूलाई लक्षित गरेर लगाइएका आरोपहरू पूर्णतः निराधार भएको दाबी गरेका छन्। उनले भिजिट भिसा प्रकरणमा आफ्नो नाम जोडिएको विषयलाई राजनीतिक षड्यन्त्रको रूपमा लिने बताएका छन्।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान जारी राखेको छ भने सत्ता र विपक्षी दलबीच संसदको अवरोध अन्त्य गर्ने सहमति भएको छ।

जेठ ३०, २०८२ शुक्रबार १७:४७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।