प्रतिनिधि सभाको अवरोध अन्त्य गर्न एमाले र माओवादी केन्द्रबीच सहमति

प्रतिनिधि सभाको अवरोध अन्त्य गर्न एमाले र माओवादी केन्द्रबीच सहमति

काठमाडौं : भिजिट भिसा र अध्यागमन विवादका कारण अवरुद्ध रहेको प्रतिनिधि सभाको बैठक सुचारु गर्न सत्तारुढ दल एमाले र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र बीच सहमति भएको छ।

सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमार बर्तौला र विपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेबीच भएको सहमतिमा भिजिट भिसा र अध्यागमन मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका र सरकारको प्रतिबद्धताका विषयमा उल्लेख गरिएको छ। 

सहमतिअनुसार भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई निष्कर्षमा पुर्याउने छ। यस कार्यका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्याहरू समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गर्ने समझदारी पत्रमा भनिएको छ। साथै नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न सरकारले ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सहमतिसँगै केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधि सभाको बैठक अब सुचारु रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ। यद्यपि रास्वपा भने यो समझदारीमा सहमत देखिदैन्। 

जेठ ३०, २०८२ शुक्रबार १६:२९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।