भारतीय अभिनेता प्रदीप रावत ‘आ बाट आमा’मा अनुबन्ध

काठमाडौं : भारतीय अभिनेता प्रदीप रावत नेपाली फिल्म ‘आ बाट आमा’ मा अनुबन्ध भएका छन्।
तेलुगु, हिन्दी र तमिल फिल्मका चर्चित खलनायक प्रदीप रावतलाई निर्देशक चन्द्र पन्तले आफ्नो दोस्रो निर्देशकीय फिल्ममा ल्याएका हुन्। निर्देशक पन्तले रावतलाई अनुबन्ध गरिसकेको जानकारी दिँदै फिल्ममा उनले पल शाहका बुबाको भूमिका निभाउने बताए।
यसअघि पन्तकै निर्देशनमा बनेको फिल्म ‘ह्रस्वदीर्घ’ मा पनि प्रदीप रावतले अभिनय गरेका थिए। सो फिल्ममा उनी अभिनेत्री नीता ढुङ्गानाको बुबाको भूमिकामा देखिएका थिए। त्यसअघि प्रदीपले ‘माइ’ फिल्ममा पनि पन्तकै निर्देशनमा काम गरेका थिए।
‘आ बाट आमा’ मा प्रदीप रावतसँगै अभिनेत्री विपना थापा र अभिनेता पल शाह पनि अनुबन्ध भइसकेका छन्। सन्तान र आमाबीचको सम्बन्धलाई मुख्य कथावस्तु बनाइएको फिल्ममा विपनाले आमाको प्रमुख भूमिका निभाउनेछिन्। निर्देशक पन्तले विपनालाई १६ वर्षपछि ‘ह्रस्वदीर्घ’ बाट नेपाली रजतपटमा फर्काएका थिए। ‘आ बाट आमा’ उनीहरूको दोस्रो सहकार्य हो।
फिल्ममा अन्य कलाकार र प्राविधिक टोलीको टुंगो भने अझै लागिसकेको छैन। निर्देशक पन्तका अनुसार छिट्टै सम्पूर्ण टोली घोषणा गरिनेछ।
अभिमन्यु निरवीले स्क्रिप्ट लेखिरहेको यो फिल्मको छायांकन भदौदेखि सुरु हुने तयारीमा छ। निर्माण टिमले दुई साताअघि फर्स्ट पोस्टर सार्वजनिक गरिसकेको छ भने फिल्मको प्रदर्शन मिति आगामी फागुन १५ गते तय गरिएको छ।
जेठ ३०, २०८२ शुक्रबार १५:५२:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।