ट्राफिक जामको अन्त्य गर्दै ग्वार्को ओभरपास, धमाधम हुँदै फिनिसिङको काम (तस्बिरहरू)

ट्राफिक जामको अन्त्य गर्दै ग्वार्को ओभरपास, धमाधम हुँदै फिनिसिङको काम (तस्बिरहरू)

काठमाडौं : ललितपुरको व्यस्त ग्वार्को चोकमा निर्माणाधीन चार लेनको ओभरपास अब सञ्चालनको अन्तिम चरणमा पुगेको छ।

झन्डै दुई वर्षअघि १७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा सुरू भएको यो आयोजनाले ग्वार्को चोकको लामो समयदेखिको ट्राफिक जामलाई अन्त्य गर्ने लक्ष्य लिएको छ।

४५५ मिटर लामो यो ओभरपासबाट चक्रपथमा गुड्ने सवारीसाधन सिधै वारपार गर्न सक्नेछन् भने पाटन र इमाडोलतर्फ जाने सवारीसाधनले मुनिको सडक प्रयोग गर्नेछन्।

कहिले डिजाइमा परिवर्तन त कहिले गुणस्तरहीन कामका कारण निर्माणमा केही ढिलाइ भए पनि अब काम तीव्र गतिमा अघि बढेको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले हालै स्थलगत अनुगमन गर्दै जेठ महिनाभित्रै जसरी पनि ओभरपास सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए।

भौतिक संरचनाको मुख्य काम सम्पन्न भइसकेको र अहिले कालोपत्र लगायतका ‘फिनिसिङ’ कार्य भइरहेको निर्माण कम्पनी आशिष समानान्तर रेलिगेर जेभीले जनाएको छ।

राजधानीको सवारी व्यवस्थापनका लागि महत्त्वपूर्ण मानिएको यो ओभरपासको सफलतापछि सातदोबाटो र एकान्तकुनामा पनि यस्तै संरचना निर्माण गर्ने सरकारको योजना छ।

जेठ ३०, २०८२ शुक्रबार १४:००:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।