आजैबाट संसद् खुल्ने गगन थापाको दाबी, तोकिएको समयमा खुल्दै खुलेन

इटहरी : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्नेगरी छलफल भइरहेको दाबी गरेका छन्।
शुक्रबार सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा उनले संसद् सञ्चालनका लागि प्रमुख दलबीच सहमति भइसकेको दाबी गरेका हुन्।
‘केहीबेरमा म संसद् किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु, तर आज केहीबेरमै संसद् खुल्छ’, महामन्त्री थापाले भने।
देशको राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा सकारात्मक सङ्केत देखिएको बताएका उनले कांग्रेस लोकतान्त्रिक अभ्यास र जनताका अपेक्षाअनुसार अघि बढ्ने दाबी गरे।
महामन्त्री थापाले दाबी गरे पनि तोकेको समय दिउँसो १ बजे बैठक बस्न सकेन यो समाचार तयार पार्दासम्म प्रतिनिधि सभाकाे बैठक सहज तरिकाले सञ्चालन हुने सहमति भएको छैन।
भिजिट भिसा प्रकरणको छानबिनमा गृहमन्त्री रमेश लेखकलाई पनि समेट्नुपर्ने मागसहित विपक्षी दलहरूले संसद बैठक लगातार अवरोध गर्दै आइरहेका छन्।
जेठ ३०, २०८२ शुक्रबार १३:२६:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।