उडेको ३० सेकेन्डमै कसरी दुर्घटनाग्रस्त भयो एयर इन्डियाको बोइङ ड्रिमलाइनर?

उडेको ३० सेकेन्डमै कसरी दुर्घटनाग्रस्त भयो एयर इन्डियाको बोइङ ड्रिमलाइनर?

काठमाडौं : बिहीबार दिउँसो अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ ड्रीमलाइनर विमान उडान भरेको केही क्षणमै दुर्घटनामा पर्यो। धावनमार्गबाट ​​करिब १.५ किलोमिटर टाढा भएको यस दुर्घटनामा विमानमा सवार २४१ जना र जमिनमा रहेका धेरैको ज्यान गएको छ।

२०११ मा व्यावसायिक सेवामा प्रवेश गरेपछि बोइङ ७८७-८ ड्रीमलाइनरको यो पहिलो घातक दुर्घटना हो। विमानलाई वास्तवमा के भयो भन्ने कुरा पत्ता लगाउन भारतीय अनुसन्धानकर्ताहरूसँग अमेरिका र बेलायतका विज्ञहरू पनि सामेल भएर विस्तृत अनुसन्धान सुरु गरिएको छ।

दुर्घटनापछि अहमदाबादको आवासीय क्षेत्रमा विमानका भग्नावशेष छरिएका थिए र घना बस्तीमा ठूलो क्षति पुगेको थियो। बीबीसीसँगको कुराकानीमा भारतीय उड्डयन विज्ञ र पाइलटहरूले उडान भरेको केही क्षणमै विमान किन दुर्घटनाग्रस्त भयो भन्ने सम्भावित कारणबारे विश्लेषण गरेका छन्। धेरै अनुभवी चालक दलले उडाएको यो विमानले टेकअफपछि उचाइ लिन किन सकेन भन्ने प्रश्न उठिरहेको छ।

उचाइ प्राप्त गर्न कठिनाइ र आपतकालीन संकेत
उक्त बोइङ ७८७-८ ड्रीमलाइनर क्याप्टेन सुमित सभरवाल र सह-पाइलट क्लाइभ कुन्दरले उडाइरहेका थिए। दुवै अनुभवी पाइलटको संयुक्त उडान अनुभव ९ हजार घण्टाभन्दा बढी थियो। एयर इन्डियाका अनुसार स्थानीय समय दिउँसो १ बजेर ३९ मिनेटमा विमानले उडान भरेको थियो। भारतीय गृहमन्त्री अमित शाहले विमानमा करिब १०० टन इन्धन रहेको, अर्थात ट्याङ्की लगभग भरिएको अवस्थामा रहेको बताए।

भारतको उड्डयन नियामकका अनुसार विमानले उडान भरे लगत्तै ककपिटबाट ‘मेडे’ कल आएको थियो, तर त्यसपछि कुनै प्रतिक्रिया प्राप्त भएन। मेडे कल किन गरियो भन्ने स्पष्ट नभए पनि, दुर्घटनाबाट बाँचेका एक मात्र व्यक्तिले विमान उडान भर्न संघर्ष गरिरहेको बेला ठूलो विस्फोटको आवाज सुनेको भारतीय सञ्चारमाध्यमलाई बताएका छन्।

बीबीसी भेरिफाइडले प्रमाणित गरेको फुटेजमा विमान आवासीय क्षेत्रमाथि निकै कम उचाइमा उडिरहेको देखिन्छ। प्राप्त अन्तिम तथ्याङ्कअनुसार विमान अधिकतम १९० मिटरको उचाइमा मात्र पुगेको थियो। त्यसपछि विमान तल खस्न थालेको र रूख तथा भवनहरू पछाडि लुकेर ठूलो विस्फोट भएको फुटेजमा देखिन्छ।

सीसीटीभी फुटेजका अनुसार विमान करिब ३० सेकेन्ड मात्र हावामा रहेको देखिन्छ। दुर्घटना घना आवासीय क्षेत्रमा भएको थियो, जसले गर्दा अस्पताल र सरकारी भवनहरू लगायतका संरचनामा पनि क्षति पुगेको छ।

विस्तृत अनुसन्धान र सम्भावित कारणहरू
दुर्घटनाको भिडियो फुटेजले विमानले उचाइ लिन संघर्ष गरेको देखाए पनि सही कारण पत्ता लगाउन विस्तृत अनुसन्धान आवश्यक छ। आगामी दिनहरूमा उडान डेटा र ककपिट आवाज रेकर्ड गर्ने विमानको ब्ल्याक बक्सको विश्लेषण र भग्नावशेषको परीक्षण गरिनेछ। बाहिर आएका भिडियोहरूमा विमानलाई ‘शक्ति वा बलको अभाव’ भएझैँ उड्न संघर्ष गरिरहेको देख्न सकिन्छ। यसै सन्दर्भमा, उड्डयन विज्ञहरूले विभिन्न सम्भावित कारणहरूबारे विश्लेषण गरेका छन्, जसमध्ये केही यस प्रकार छन्:

१. दुवै इन्जित फेल:
विज्ञहरूले दुवै इन्जिन फेल भएको हुनसक्ने सम्भावित कारणको रुपमा हेरेका छन्। तर, यो अत्यन्तै दुर्लभ कारणहरुमध्ये एक हो। उड्डयन विज्ञ मोहन रंगनाथनका अनुसार दुवै इन्जिन एकैसाथ फेल हुनु उड्डयनमा ‘एकदमै दुर्लभ’ मानिन्छ। यसको एउटा प्रसिद्ध उदाहरण २००९ को ‘मिरेकल अन द हडसन’ घटना हो, जहाँ चरा ठोक्किएपछि युएस एयरलाइन्सको एयरबस ए३२० का दुवै इन्जिन फेल भए पनि सुरक्षित अवतरण सम्भव भएको थियो।

एक वरिष्ठ पाइलटका अनुसार इन्धनको प्रदूषण वा इन्धन पाइपलाइनमा अवरोधका कारण फेल हुनसक्ने बताए। विमानका इन्जिनहरू सटीक इन्धन मिटरिङ प्रणालीमा निर्भर हुन्छन् र यो प्रणालीमा गडबडी आएमा इन्धन आपूर्ति रोकिई इन्जिन बन्द हुन सक्छन्। यद्यपि, पूर्व पाइलट मार्को चानले उपलब्ध फुटेजका आधारमा दोहोरो इन्जिन फेल भएको कुनै ठोस प्रमाण नदेखिएको बीबीसी भेरिफाइलाई बताएका छन्।

यसैबीच, विमानको इन्जिन निर्माता जीई एयरोस्पेसले अनुसन्धानमा सहयोग गर्न भारतमा टोली पठाएको छ भने बोइङले एयर इन्डियालाई पूर्ण सहयोग गरिरहेको बताएको छ।

२. चरासँग ठोक्किएको
अर्को सम्भावित कारणको रूपमा ‘चरासँग ठोक्किएको’ हुनसक्ने बताइएको छ। विमान उडान वा अवतरणका क्रममा चरा ठोक्किनु सामान्य भए पनि यदि चरा इन्जिनमा पस्यो भने यसले गम्भीर क्षति पुर्याई इन्जिनको शक्ति गुम्न सक्छ।

अहमदाबाद विमानस्थल क्षेत्रमा धेरै चराहरू रहेको विमानस्थलको रूपमा परिचित रहेको विज्ञ र पाइलटहरू बताउँछन्। नागरिक उड्डयन मन्त्रालयको डिसेम्बर २०२३ को संसदमा प्रस्तुत तथ्याङ्क अनुसार, अहमदाबाद अवस्थित गुजरातमा पाँच वर्षमा ४६२ चरा ठोक्किएका घटना रेकर्ड भएका छन्, जसमध्ये धेरै अहमदाबाद विमानस्थलमा भएका छन्। सेप्टेम्बर २०२३ को एक रिपोर्टले २०२२-२३ मा मात्र अहमदाबादमा विमानसँग ३८ चरा ठोक्किएको देखाएको थियो।

२००९ मा ‘मिरेकल अन द हडसन’ घटनामा २,७०० फिटको उचाइमा चरा ठोक्किएर दुवै इन्जिन फेल भएका थिए, तर यस अहमदाबाद दुर्घटनामा विमानले त्यति उचाइ लिन पाएन र चालक दलसँग प्रतिक्रिया दिन पर्याप्त समय थिएन। यद्यपि, एक वरिष्ठ पाइलटले भने चरा ठोक्किँदा विरलै विनाशकारी परिणाम आउने बताएका छन्।

३. फ्ल्याप सेटिङमा समस्या
बीबीसी भेरिफाइसँग कुरा गरेका केही विज्ञहरूले विमान उडान भर्ने क्रममा ‘फ्ल्याप’ सही तरिकाले सेट नगरिएको हुनसक्ने सम्भावना पनि औंल्याएका छन्। विमानले उडान भर्दा फ्ल्यापको महत्त्वपूर्ण भूमिका हुन्छ। यसले कम गतिमा पनि विमानलाई आवश्यक लिफ्ट प्रदान गर्न मद्दत गर्छ। यदि फ्ल्यापहरू सही कोणमा खोलिएनन् भने, विशेष गरी यात्रु र इन्धनले भरिएको तथा गरम मौसममा विमानलाई उचाइ लिन संघर्ष गर्नुपर्ने हुन्छ।

बिहीबार अहमदाबादको तापक्रम करिब ४० डिग्री सेल्सियस रहेको र यस्तो अवस्थामा फ्ल्याप सेटिङमा सानो गल्तीले पनि गम्भीर परिणाम निम्त्याउन सक्ने एक पाइलटले बताए। सीसीटीभी फुटेजमा विमानले उचाइ लिन संघर्ष गरेको देखिनुले यो सम्भावनालाई थप बल पुर्याएको केही विज्ञको भनाइ छ।

यद्यपि, अन्य पाइलटहरूले बोइङ ७८७ मा उडान भर्ने कन्फिगरेसन गलत भएमा चेतावनी प्रणालीले पाइलटलाई तत्काल सूचित गर्ने बताएका छन्। पूर्व पाइलट मार्को चानले फुटेजबाट फ्ल्यापको अवस्था स्पष्ट नभए पनि यस्तो गल्ती ‘अत्यन्तै असामान्य’ हुने बताएका छन्।

‘फ्ल्याप सेटिङ उडानपूर्व धेरै चेकलिस्ट र प्रक्रियाहरूद्वारा पुष्टि गरिन्छ,’ उनले भने, ‘यदि फ्ल्याप सही तरिकाले सेट गरिएको थिएन भने, त्यसले मानवीय त्रुटिलाई संकेत गर्न सक्छ।’

यी सबै सम्भावित कारणहरू भए पनि वास्तविक कारण भने पूर्ण रूपमा अनुसन्धान भएपछि मात्र  थाहा हुनेछ।

बीबीसी हिन्दीमा भएको समाचार अनुवाद गरिएको

जेठ ३०, २०८२ शुक्रबार १२:२९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।