ज्ञवालीलाई धम्क्याएको छैन, काउन्सिलबाट प्रक्रिया नमिलेर प्रहरीमा गएका हौं : परराष्ट्रमन्त्री राणा

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई धम्की दिएको भन्दै नागरिक दैनिकमा प्रकाशित समाचारप्रति आश्चर्य व्यक्त गर्दै ज्ञवालीसँगको टेलिफोन कुराकानीलाई तोडमोड गरी समाचार प्रकाशन गरिएको आरोप लगाएकी छन्।
मन्त्री देउवाले बुधबार एक फेसबुक पोस्टमार्फत आफ्नो र परिवारलाई बदनाम गराउने मनसायले सामाजिक सञ्जालमा आएको एक तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरुपणका बारेमा ज्ञवालीसँग कुराकानी भएको दाबी गरेकी छन्।
उनको भनाइ अनुसार, उक्त भ्रामक र तथ्यहीन भिडियो प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्ता नभएको थाहा पाएपछि प्रेस काउन्सिलमार्फत प्रक्रिया सुरू गर्न नमिल्दा राज्यको कानुन अनुसार नै न्याय खोजिएको हो।
यसै क्रममा उक्त भ्रामक भिडियो पोस्ट गर्ने व्यक्ति वा संस्थाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको जानकारी उनले ज्ञवालीलाई दिएकी थिइन्। उनले कानुनले दिने सजायलाई नै अनुसरण गर्ने बताएकी छिन्।
मन्त्री देउवाले आफू नियमित पाठक रहेको न्युयोर्क टाइम्सजस्तो प्रतिष्ठित मिडियाको सहयात्री प्रकाशन नागरिक दैनिकले पनि सोही भ्रामक भिडियोलाई स्रोत मानेर समाचार प्रकाशन गर्नुभन्दा सत्य तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिएको भने स्वीकार गरेकी छिन्।
तर, यही सुझावसहितको फोन संवादलाई तोडमोड गरेर आफूलाई धम्की आएको भनी ज्ञवालीले आफ्नै पत्रिकामा समाचार प्रकाशन गराउँदा आफूलाई अचम्म लागेको उनले विज्ञप्तिमा उल्लेख गरेकी छिन्।
उनले मिडियाको सबैभन्दा ठूलो पक्ष जिम्मेवारीबोध र विश्वसनीयता हुनुपर्ने धारणा राख्दै लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएकाले कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्ने र मिडिया पीडितमैत्री हुने आफ्नो बुझाइ रहेको बताएकी छिन्।
यसैका आधारमा राखिएका कतिपय धारणाहरूलाई प्रेसले धम्कीपूर्ण भाषाका रूपमा बुझ्नु दुःखद भएको उनले उल्लेख गरेकी छिन्।
स्मरण रहोस्, परराष्ट्रमन्त्री देउवाका छोराको हिल्टन होटलमा लगानी भएको विषयमा पत्रकार दिलभूषण पाठकले समाचार सम्प्रेषण गरेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
यसको नेपाल पत्रकार महासंघ लगायत पत्रकारका विभिन्न संघसंस्थाहरूले विरोध जनाएका छन्। मन्त्री देउवाको यो स्पष्टीकरण पत्रकार पाठकविरुद्धको कानुनी कारबाही र यसको विरोधका बीच आएको हो।
यसैबीच राणाले नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई फोन गरेर धम्की दिएको भन्दै शुक्रबार नागरिक दैनिकमा समाचार प्रकाशित भएको थियो।
जेठ ३०, २०८२ शुक्रबार १०:५९:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।