इजरायली आक्रमणमा मारिए इरान रिभोलुशनरी गार्ड प्रमुख

एजेन्सी : इजरायली आक्रमणमा इरान रिभोलुशनरी गार्डका प्रमुख हुसेन सलामी मारिएका छन्। इरानको राज्य सञ्चालित सञ्चारमाध्यमले इरानी अधिकारीहरूलाई उद्धृत गर्दै उनी मारिएको पुष्टि गर्दै समाचार लेखेका छन्।
इरानी सरकारी टेलिभिजनले इजरायली आक्रमणमा मारिएका दुई वरिष्ठ आणविक वैज्ञानिकहरूको नाम सार्वजनिक गरेको छ। यसमा आणविक ऊर्जा संगठनका पूर्व प्रमुख फेरेदुन अब्बासी र तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानची समावेश छन्।
२०१० मा, तेहरानको एउटा सडकमा फेरियदुन अब्बासीलाई मार्ने प्रयास गरिएको भए पनि त्यो समयमा उनी बाँचेका थिए।
इजरायलले इरानको आणविक कार्यक्रम र अन्य सैन्य प्रतिष्ठानहरूसँग सम्बन्धित स्थलहरूमा लक्षित आक्रमण गरेको बताएको छ।
इरानी सरकारी टेलिभिजनले नातान्ज आणविक केन्द्रमा नयाँ विस्फोट भएको रिपोर्ट गरेको छ। यो आणविक केन्द्र तेहरानबाट लगभग २२५ किलोमिटर दक्षिणमा अवस्थित छ।
यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानमाथि इजरायलको आक्रमण अमेरिमा संलग्न नभएको जनाएका छन्। उनले आफूहरूको पहिलो प्राथमिकता यस क्षेत्रमा अमेरिकी सेनाको सुरक्षा गर्नु भएको बताउँदै इरानले अमेरिकी हित विपरीत जवाफी आक्रमण गर्न नहुने उल्लेख गरे।
‘यो कारबाही इजरायलको आत्मरक्षाको लागि आवश्यक थियो भनेर इजरायलले हामीलाई भनेको छ,’ उनले भने, ‘राष्ट्रपति ट्रम्प र प्रशासनले हाम्रा सेनाहरूको सुरक्षा गर्न र यस क्षेत्रमा हाम्रा साझेदारहरूसँग घनिष्ठ सम्पर्कमा रहन सबै आवश्यक कदम चालेका छन्।’
जेठ ३०, २०८२ शुक्रबार ०९:२८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।