प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै, विपक्षीको अवरोध हटाउन छलफल जारी

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै, विपक्षीको अवरोध हटाउन छलफल जारी

काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ। विगत केही दिनदेखि संसद अवरोधका कारण बैठक बस्न सकेको थिएन।

आजको बैठकका लागि विभिन्न सम्भावित कार्यसूची तय गरिएका छन्। कार्यसूची अनुसार, बैठकको प्रारम्भमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउनेछन्।

बैठकको महत्वपूर्ण कार्यसूचीको रूपमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

सो प्रस्ताव प्रस्तुत भएपछि आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरिनेछ।

त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि रहेको छ।

यद्यपि, विगत केही दिनदेखि जारी संसद अवरोधले आजको बैठक बस्ने वा नबस्ने भन्ने विषय अझै निश्चित भइसकेको छैन। यद्यपि अवरोध हटाउन छलफल भने जारी छ।

जेठ ३०, २०८२ शुक्रबार ०८:३४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।