मलेखु-मुग्लिन सडकखण्ड राति साढे चार घण्टा बन्द हुने

मलेखु-मुग्लिन सडकखण्ड राति साढे चार घण्टा बन्द हुने
फाइल तस्बिर

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मलेखु-मुग्लिन सडकखण्ड आजदेखि रातिको समयमा बन्द गरिने भएको छ।

सडक निर्माण कार्यका लागि अत्यावश्यक बाहेकका सवारीसाधन असार ७ गतेसम्म राति साढे १० बजेदेखि बिहान ३ बजेसम्म सञ्चालनमा रोक लगाइएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालका अनुसार, उक्त सडकखण्डमा पर्ने बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा निर्माणाधीन पुलमा आरसीसी बिम राख्ने कार्य भइरहेको छ।

आरसीसी बिम राख्नका लागि ठूलो आकारको क्रेन प्रयोग गर्नुपर्ने भएकाले सुरक्षा र कार्य सहजताका लागि रातिको समयमा सवारी आवागमन बन्द गर्नुपरेको डीएसपी हमालले बताए।

सडक बन्द हुने अवधिभर मुग्लिनतर्फबाट मलेखुतर्फ जाने भारी सवारी साधनलाई मुग्लिन र हलुका सवारी साधनलाई कुरिनटारमा रोकिनेछ। त्यसैगरी, मलेखुतर्फबाट मुग्लिनतर्फ जाने भारी सवारी साधनलाई मलेखु र हलुका सवारी साधनलाई शितलबजारमा रोकिनेछ।

यी स्थानमा रोकिएका सवारी साधनलाई बिहान तीन बजेपछि मात्रै गन्तव्यतर्फ जान दिइनेछ। एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारीसाधनलाई भने सञ्चालनमा प्राथमिकता दिइने जनाइएको छ।

जेठ ३०, २०८२ शुक्रबार ०७:३८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।