कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : हाल देशमा मनसुनी वायु, पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, यसको प्रभावले गर्दा हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागका साथै लुम्बिनी प्रदेशको पूर्वी भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा देशका पहाडी भू-भागका अन्य केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बताएको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायमै छ।

जेठ ३०, २०८२ शुक्रबार ०७:१८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।