पोखरामा ४५ दिने डिजिटल तालिम सम्पन्न

पोखरा : पोखरा महानगरपालिका वडा नं. २६ ले आयोजना गरेको ४५ दिने डिजिटल प्रविधिमा आधारित तालिम बिहीबार सम्पन्न भएको छ। तालिमको समापन समारोहमा वैज्ञानिक, शैक्षिक क्षेत्रका विज्ञ र तालिम प्रशिक्षार्थीहरूको उत्साहजनक सहभागिता रह्यो।
समापन कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता डा. सन्तोष कोइरालाले डिजिटल बजारमा दक्ष जनशक्तिको अभाव देखिएको र त्यहाँको सम्भावनालाई नेपाली युवाले उपयोग गर्नुपर्नेमा जोड दिए। उनले विज्ञान र प्रविधिमा पछिल्लो पुस्ताको अभ्यस्तता अनिवार्य भएको उल्लेख गर्दै, डिजिटल शिप भएकाले बेरोजगार नरहने धारणा राखे। साथै, अनुसन्धानविनाको योजना असफल हुने भन्दै राज्यले अनुसन्धानमा लगानी बढाउनुपर्नेमा पनि उनले जोड दिए।
पोखरा विश्वविद्यालयका डिन डा. कपिल अधिकारीले सामाजिक शिक्षा र प्रविधि सँगै अघि बढ्नुपर्ने धारणा राखे। उनले अहिलेका युवामा प्रश्न गर्नेतर्फ भन्दा मौन बस्ने र समस्याबाट भाग्ने प्रवृत्ति बढेको उल्लेख गर्दै, त्यसैकारण युवा पलायन तीव्र भएको बताए।
युवा वैज्ञानिक विकल्प ढुंगानाले शिप सिक्नु मात्र होइन, त्यसको निरन्तरताले मात्र लक्ष्यमा पुर्याउने बताउँदै सिकाइलाई अभ्यासमा रूपान्तरण गर्न आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रमका अध्यक्ष तथा वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले प्रविधिले युवालाई मात्र होइन, देशलाई नै परिवर्तन गर्ने सामर्थ्य राख्ने बताए। उनले वडालाई प्रविधि मैत्री बनाउने योजनाअनुसार तीन सामुदायिक विद्यालयमा "बुक फ्री डे" अवधारणा अन्तर्गत शिप विकासलाई अघि बढाइएको जानकारी दिए। सिकाइपछि युवाले प्रविधिलाई आयआर्जनको माध्यम बनाउनु पर्नेमा पनि उनले जोड दिए।
तालिममा भिडियो सम्पादनमा ३१, ग्राफिक्स डिजाइनमा ४५, रोबोटिक्समा २९ र व्यक्तित्व विकासमा १८ जना सहभागी थिए। समापनमा प्रशिक्षार्थीहरूले बनाएको रोबोटिक्स सिजरबाट रिवन काटेर कार्यक्रम शुभारम्भ गरिएको थियो। साथै, उनीहरूले तयार पारेका रोबोटिक्स प्रोजेक्ट, चाडपर्व विशेष ग्राफिक्स डिजाईन र छोटो डकुमेन्ट्रीहरूको प्रदर्शनी गरिएको थियो।
साथै, तालिमका सहभागीमध्ये पोखरा विश्वविद्यालयद्वारा आयोजित प्रविधि प्रतिस्पर्धामा "स्मार्ट कृषि" र "स्मार्ट डस्टबिन" प्रोजेक्टमा क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीलाई वडाध्यक्ष थापाले सम्मान गरेका थिए।
जेठ २९, २०८२ बिहीबार २०:५२:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।