काठमाडौं विश्वविद्यालयमा मौलिक सञ्चार सिद्धान्तबारे संगोष्ठी सम्पन्न, दुई दर्जन कार्यपत्र प्रस्तुत

काठमाडौं : काठमाडौं विश्वविद्यालयको भाषा तथा आम सञ्चार विभागले बुधबार ‘मौलिक दर्शनमा आधारित सञ्चार सिद्धान्त’ विषयक एकदिने राष्ट्रिय संगोष्ठी सम्पन्न गरेको छ। संगोष्ठीमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहका विद्यार्थीहरूले प्रस्तुत गरेका दुई दर्जन अनुसन्धानपत्रहरू मुख्य आकर्षण बने।
विभागीय प्रमुख डा. निर्मलमणि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन सत्रमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी प्रमुख अतिथि थिए। विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं र स्कुल अफ आर्ट्सका एसोसिएट डिन डा. उद्धव प्याकुरेल विशेष अतिथिका रूपमा सहभागी भए।
संगोष्ठीमा इन्डोनेसियाको जकार्तास्थित बुडी लुहर विश्वविद्यालयकी डा. नि गुस्ती आयु केतुत कुर्नीयासारीले अनलाइनमार्फत पूर्वीय दर्शनमा आधारित सञ्चार सिद्धान्तबारे बीज वक्तव्य दिइन्।
कार्यक्रमका विभिन्न सत्रमा डा. सुधांशु दाहाल, डा. रामचन्द्र पौडेल, डा. सिद्धार्थ ढुंगाना, सहिष्णु पौड्याल र तृष्णा आचार्यले कार्यपत्रहरूमा टिप्पणी र सत्र सञ्चालन गरे। स्नातक तहका विद्यार्थीहरूले समूहमा र स्नातकोत्तर तथा पीएचडी तहका विद्यार्थीहरूले व्यक्तिगत रूपमा गरी कुल ३८ जनाले अनुसन्धानपत्र प्रस्तुत गरेका थिए।
संगोष्ठीले नेपाली सञ्चार अध्ययनमा मौलिक दृष्टिकोण विकास गर्न महत्वपूर्ण थालनी भएको आयोजकहरूको भनाइ छ।
जेठ २९, २०८२ बिहीबार २०:४१:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।