'महाराजधिराज' बाट आउट भए पल

'महाराजधिराज' बाट आउट भए पल

काठमाडौं : एक वर्षअघि निर्देशक परिच्छेद सेनले आफ्नो दोस्रो फिल्म 'महाराजधिराज'मा पल शाहलाई अनुबन्ध गरेको घोषणा गरे। उनले पल शाहको फोटो सहितको पोस्टर सार्वजनिक गरेर व्यापक प्रचार गरे। उक्त पोस्टरमा पल शाहलाई अर्धनग्न अवस्थामा सिंहासनमा बसेको देखाइएको थियो। तर अहिले आएर पललाई फिल्मबाट ‘आउट’ गरिएको छ।

 नाबालिका बलात्कारको आरोप लागेपछि पल शाहको लोकप्रियता घट्यो। उनका हालका फिल्महरू 'रावायण' र 'मायावी'लाई दर्शकहरूले बहिष्कार गरे। हलहरूमा यी फिल्महरूको कमजोर प्रदर्शनले निर्माताहरूलाई ठूलो घाटा बेहोर्न बाध्य बनायो। 'मायावी'का निर्माता तथा निर्देशक दीवाकर भट्टराईको पल शाहको कमब्याकबाट राम्रो आम्दानी गर्ने सपना चकनाचूर भयो। त्यस्तै, पूजा शर्माले 'रावण'मा लगानी गरेको पैसा पनि डुब्यो।

ओम प्रतिकको फिल्म 'मोहर'मा पनि सन्तोषजनक परिणाम नदेखिएपछि परिच्छेद टोलीले आफ्नो फिल्मको रणनीति परिवर्तन गर्ने निर्णय गरेको छ। उनीहरूले आर्यन सिग्देल लगायतका कलाकारहरूलाई टोलीमा राखेर पल शाहसँगको सम्झौता रद्द गरेका छन्।

निर्देशक सेनले सामाजिक सञ्जालमार्फत लामो स्टेटस लेख्दै भनेका छन्: ‘यस पत्रमार्फत निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्ट र यहाँबीच फिल्म 'महाराजधिराज' निर्माणका लागि मिति २०८१ कार्तिक १४ गते (२०२४ अक्टोबर ३०) मा भएको सम्झौतालाई दुवै पक्षको आपसी सहमतिमा आजको मितिदेखि औपचारिक रूपमा अन्त्य गरिएको जानकारी गराउन चाहन्छौं।’

उनले यो सम्झौता अन्त्यको विषयमा तेस्रो पक्षबाट आउने 'कहाँ', 'किन', 'कसरी', 'कसले' जस्ता प्रश्नहरूको उत्तर दुवै पक्षले नदिने उल्लेख गरेका छन्। यद्यपि दुवै पक्षले स्पष्ट कारण नभने पनि यसको मुख्य कारण पल शाहका अघिल्ला फिल्महरूको व्यावसायिक असफलता नै देखिन्छ।

'महाराजधिराज' फिल्ममा अब वर्षा राउत, वर्षा सिवाकोटी, आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का र जयकिशन बस्नेत अनुबन्धित भएका छन्। यस फिल्मका निर्माताहरूमा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन्।

'महाराजधिराज' आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने घोषणा गरिएको छ। तर अहिलेसम्म यो फिल्मको छायांकन भने सुरु भएको छैन।

जेठ २९, २०८२ बिहीबार १९:३७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।