प्रतिनिधिसभाबाट असार १५ भित्रै शिक्षा विधेयक पारित हुने गृहमन्त्रीको दाबी

काठमाडौं : गृहमन्त्री रमेश लेखकले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमति बमोजिम विद्यालय शिक्षा विधेयक पारित हुने बताएका छन्। नेपाल शिक्षक संघको २४ औं संघीय कार्यसमिति बैठकको उद्घान समारोहमा गृहमन्त्री लेखकले आगामी असार १५ गतेभित्र प्रतिनिधिसभाबाट विद्यालय शिक्षा विधेयक पारित हुने प्रतिबद्धता व्यक्त गरे।
‘असारको १५ गतेभित्र शिक्षा विधेयकलाई पारित गर्ने भनेका छौँ। यो तिथि मितिमा सरकारले प्रतिबद्धता गरेको हो। असार १५ गते नै प्रतिनिधिसभाबाट पारित हुन सक्ने अवस्था बन्छ,’उनले भने।
केही विपक्षी दलका मानिसहरुले औचित्यहीन मुद्दा उठाएर प्रतिनिधिसभा बैठक अवरुद्ध भइरहेको भन्दै गृहमन्त्री लेखकले रोष प्रकट गरे।
‘संसद अवरुद्ध गर्नुपर्ने कुनै कारण छैन। कुनै अर्थ छैन। कुनै औचित्य छैन। केही प्रतिपक्ष दलमा रहेका मानिसहरू षड्यन्त्रपूर्ण ढंगले राजनीतिक आग्रह र पूर्वाग्रह राखेर मुद्दा उठाइराख्नु भएको छ,’उनले भने, ‘यो सबैका बिचमा देखिएको छ। एउटा कर्मचारीमाथि भइरहेको छ। त्यसलाई सरकारसँग जोडेर अनावश्यक ढंगले बखेडा झिकेर संसद अवरुद्ध गरिएको छ। यो अवरोध चाँडै हट्नुपर्छ।’
संसदको अवरोध हटिसकेपछि असार १५ गतेभित्र शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गरेर अगाडि बढाउने गृहमन्त्री लेखकले विश्वास दिलाए।
जेठ २९, २०८२ बिहीबार १८:४४:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।