आलमलाई सफाई दिने न्यायाधीश थारुलाई इजलासमै मोसो छ्यापियो

रौतहट : रौतहटको राजपुर बमकाण्डमा जन्मकैदको सजाय पाएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालो मोसो छ्यापिएको छ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुमाथि नेकपा बहुमत निकट कार्यकर्ताहरूले कालो मोसो दलेका हुन्। उनीहरूले न्यायाधीशको कार्यकक्षमै पुगेर मोसो दलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
कार्यकर्ताहरूले कालो मोसो प्रहार गर्दै ‘नेकपा बहुमत जिन्दाबाद’, ‘जनताको कर खाने र जनविरुद्ध फैसला गर्नेहरूलाई कारबाही गर’ जस्ता नारासमेत लगाएका थिए। घटनापछि प्रहरीले तत्कालै दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
न्यायाधीश थारु सहितको इजलासले केही दिनअघि पूर्वसांसद आलमलाई ज्यानसम्बन्धी मुद्दामा सफाइ दिएको थियो।
२०६४ साल चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन आलमले आफ्ना समर्थकहरूलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। तर उच्च अदालत जनकपुरले सो फैसलालाई उल्ट्याउँदै आलमलाई सफाइ दिएको हो।
जेठ २९, २०८२ बिहीबार १७:३५:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।