पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बागमती सडक खण्डको चक्काजाम सातघण्टा पछि खुल्यो

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बागमती सडक खण्डको चक्काजाम सातघण्टा पछि खुल्यो

रौतहट : रौतहटमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयले गरेको चक्काजाम सातघण्टा पछि खुलेको छ।

चन्द्रपुर नगरपालिका-१, मंगलपुरका ३५ वर्षीय बुद्ध जिम्बाको सवारी साधनको ठक्करबाट मृत्यु  भएपछि आक्रोशित स्थानीयले बिहीबार बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म पूर्व–पश्चिम राजमार्गको बागमती सडक खण्डमा चक्काजाम गरेका हुन्।

ठक्कर दिने सवारी साधनको पहिचान गरी कारवाही गर्नुपर्ने लगायतका माग राखी स्थानीयले चक्काजाम गरेको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार राजमार्ग क्षेत्रमा जडान गरिएको सिसिटिभी क्यामरा मार्फत ठक्कर दिने सवारी साधनको पहिचान गरी कार्वाही गरिने प्रतिवद्वतापछी चक्काजाम खुलेको हो। 

ठक्कर दिने सवारी साधन र चालक फरार भएकाले खोजी कार्य तीब्र परिएको उनको भनाइ छ।

चक्काजामका कारण पूर्व–पश्चिम राजमार्ग भएर गुड्ने गाडी सडकमा नै रोकिएका थिए । सवारी साधनबाट गन्तव्य तर्फ हिडेका यात्रुहरू भने बिचल्ली परेका थिए। अहिले पूर्व-पश्चिम राजमार्ग बाटो पूर्ण रुपमा खुलेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

जेठ २९, २०८२ बिहीबार १७:०९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।