नारायण खत्रीको हिजोका कुरा : फेर्ने लुगा नहुँदा १५/२० दिनमा नुहाइन्थो, ५० पैसाको लोभले घ्यु बेच्न चार घण्टा हिँडियो

नारायण बहादुर खत्री ६२ वर्षका भए। काभ्रेपलाञ्चोकको गणेशस्थानमा २०२० सालमा जन्मिए पनि बुबाआमालाई छोराछोरी पढाउनुपर्छ भन्ने ज्ञान नहुँदा घर नजिकै स्कुल हुँदाहुँदै पनि उनले पढ्न पाएनन्। परिवार खेतीपातीमा व्यस्त हुन्थ्यो। उनको काम गोठालो जाने। पैसाको अभावका कारण, खेतीपाती र वस्तुभाउ हेर्दैमा धेरैको समय बित्थ्यो।
उनी १५ वर्षको हुँदा पनौतीबाट ३ रुपैयाँ भाडा तिरेर काठमाडौं आए। छिमेकीको साथ लागेर आएका उनले धेरैका घर, होटलमा सित्तैमा जस्तै काम गरे। घरमा रङ लगाउने काम पनि गरे। समय बित्दै गयो, बिहेवारी भयो।
काठमाडौंमा लामै समय संघर्ष गरेपछि अन्ततः उनी खेतीपाती गर्न आफ्नै गाउँ फर्किए। यतिबेला उनी खेती किसानीमा लागेका छन्। काठमाडौं आउजाउ गरिरहने किसान नारायण बहादुरले आफूले देखेको भोगेको कुरा उकेराको ‘हिजोका कुरा’ स्तम्भमा यसरी सुनाए:
बुबा आमामा छोराछोरी पढाउनुपर्छ भन्ने चेतना नै थिएन
म २० सालमा जन्मेको मान्छे हुँ। मैले थाहा पाउँदा मेरो गाउँलाई चलाल गणेस्थान गाउँ पञ्चायत वडा नम्बर ४ भनिन्थ्यो। घर नजिकै नाश्वरी महांकाल माध्यमिक विद्यालय थियो, तर म त्यो स्कुलमा पढ्न पाइनँ। मैले वस्तु गोठालो गर्नुपर्थ्यो। बुबाआमालाई छोराछोरीलाई पढाउनुपर्छ भन्ने ज्ञान नै थिएन। म स्कुल गएँ भने गोठालो कसले गर्छ भन्ने चिन्ता उहाँहरूलाई हुन्थ्यो। त्यसैले, मेरो बाल्यकाल पढाइमा भन्दा गोठालोमै बित्यो।
मैले पढ्न जान्छु भन्दा बुबाआमा भन्नुहुन्थ्यो, ‘तलाई गोठालो को जान्छ र?’ अनि म कसरी पढ्न जान्थेँ र! म त गोठालोमै समय बिताएँ। अहिलेको समय भएको भए सायद पढ्न जान्थेँ होला। त्यो बेला म मात्र होइन, गाउँका धेरैजसो केटाकेटी गोठालोमै व्यस्त हुन्थे। अरू कसैलाई पनि खासै पढ्न पठाइँदैनथ्यो।
मेरो काम बिहानै सुरू हुन्थ्यो। खेतालालाई खाजा पुर्याउन खेतमा जानुपर्थ्यो। अहिलेको जस्तो अनेक थरी खाजा बनाउने चलन थिएन। घरमा रोटी पाकेको छ कि, मकै भुटेको छ कि, जे छ, त्यही बनाएर खेतमा लगिदिन्थेँ। आमाबुबा बारीमा भएपछि म घरमा बस्ने कुरै भएन। भात पकाउने, घरका अरू काम गर्ने आदिमा मेरो समय बित्थ्यो।
बुबाआमाले स्कुल जाओ भन्नुभएको भए सायद जान्थेँ होला। त्यो बेला स्कुल पठाउनुपर्छ भन्ने चलन नै कम थियो। पढ्नुपर्छ भन्ने मतलब नै कसैलाई थिएन। सबै गाईवस्तु हेर्ने, घरखेतको काम गर्नेमा नै व्यस्त हुन्थे। भाईबहिनी स-सानै थिए, उनीहरू गोठालो जान सक्दैन थिए। हामी दश जना छोराछोरीमध्ये म माइलो थिएँ, त्यसैले अलिक बढी जिम्मेवारी मेरो काँधमा आइपर्थ्यो।
हामी तीन दिदीबहिनी र सात दाजुभाइ थियौँ। भाईबहिनी पनि हेर्नुपर्ने हुन्थ्यो। अहिले पो एक/दुई सन्तानको चलन आयो, पहिला त त्यस्तो कहाँ थियो र! मेरी आमाले मात्रै १० जना छोराछोरी जन्माउनुभएको हो। अरूको त के कुरा गर्नु! सन्तान नै सम्पत्ति मानिन्थ्यो। यही कारणले पनि त्यो समयमा धेरैले पढ्न फुर्सद पाउँदैनथे, मैले पनि पाइनँ।
पनौती बजारमा किनमेल, घ्यु बेच्न बनेपा
त्यतिबेला अहिलेको जस्तो मोटरबाटो थिएन। घरका सामान बेच्नका लागि हिँडेरै पनौती बजार आउनुपर्थ्यो। बजारमा बेच्नका लागि हामीसँग भटमास, घ्यु हुन्थ्यो। त्यो पनि बेच्न पनौती नै पुग्नुपर्थ्यो, अर्को बाटो थिएन। त्यसबेला ६ रुपैयाँमा एक करुवा घ्यु पाइन्थ्यो। हामीकहाँ वस्तु पालेकाले चार कुरुवा जति घ्यु हुन्थ्यो, त्यो बेच्न पनौती बजार आउँथ्यौँ।
तर, बनेपामा साढे ६ रुपैयाँ पाइन्थ्यो। ५० पैसा बढी आउने भएकाले चार घण्टाको बाटो हिँडेर पनि हामी घ्यु बेच्न बनेपा बजार पुग्थ्यौँ। पनौती आइपुग्नै साढे दुई घण्टा लाग्थ्यो, अनि त्यहाँबाट बनेपा पुग्न झण्डै डेढ घण्टा। घ्यु र भटमास बेचेको पैसाले आवश्यक सामान किनिन्थ्यो। त्यसबेला टुकी बाल्नुपर्ने हुँदा मट्टितेल, अनि नुन, लुगाकपडा, तमाखु जस्ता आवश्यक सामान किनेर घर हिँडिन्थ्यो।
बनेपा बजारबाट घर फर्केर आइपुग्दा रातको ठ्याक्कै ८, ९ बज्थ्यो। अँधेरी रातमा बाटोमा पर्ने घरका मान्छेहरूले गहुँको छ्वाली दिन्थेँ, त्यहीँ बालेर उज्यालोमा घर गइन्थ्यो। नत्र जुनको उज्यालोमा बाटो हिँड्नुपर्थ्यो। त्यो सम्झना अहिलेसम्म पनि मेरो मनमा छ।
गाउँमा चिया खाने चलन नै थिएन। चिनीको प्रयोग हुँदैनथ्यो, प्रायः सबैको घरमा सख्खर हुन्थ्यो। पनौतीसम्म सामानको भारी बोकेर ल्याएबापत हो कि वा मलाई भोक लाग्यो भनेर हो, बुबाले एक चानो पाउरोटी र एक गिलास चिया किनिदिनुहुन्थ्यो। त्यो बेला एक सुकामा चिया र दश पैसामा पाउरोटी पाइन्थ्यो। त्यसबेलाको पाउरोटी कस्तो मीठो हुन्थ्यो! मगमग बास्ना आउँथ्यो।
काम गरेको पैसा पाउनै मुस्किल, कसैले सित्तैमा लगाए काम
त्यतिबेला काठमाडौंको चर्चा त सुनिन्थ्यो, तर कस्तो होला भन्ने कल्पना गर्न सक्दिनथेँ। छिमेकीले मलाई काठमाडौं लिएर आए। यो ३५ सालतिरको कुरा हो। त्यतिबेला पनौतीबाट काठमाडौं आउँदा ३ रुपैयाँ भाडा लाग्थ्यो।
काठमाडौं आएपछि त्यो मान्छेले मलाई भारी बोक्ने काममा लगायो। भोटेबहालमा दाउरा चिर्ने र ती दाउरा बोकेर जहाँ-जहाँ पुर्याउन भन्थे, उतै-उतै बोकेर लैजान्थेँ। एक मन (४० किलो) दाउरा बोक्न मलाई निकै गाह्रो हुन्थ्यो। एक मन दाउरा बोक्दा २ रुपैयाँ आउँथ्यो। बोरामा हालेर बोक्नुपर्थ्यो।
एक दिन मलाई काठमाडौं ल्याउने मान्छेले होटलमा काम गर्न पठायो। खिचापोखरीको एउटा होटलमा मैले ५-६ महिना काम गरेँ। त्यो नेवारको होटल रहेछ। त्यहाँ काम गर्दा जेरीसेरी मजाले खाइन्थ्यो। पछि मलाई त्यहाँ काम गर्नै मन लागेन। छ महिना काम गर्दा पनि पैसा दिएन।
अरूको भाँडा मात्र माझेर हुँदैन भन्ने लागेर काम छोड्ने तयारी गर्दै थिएँ म, होटलको मालिकले एउटा नयाँ तरिका निकाल्यो। उसले भन्यो, ‘एक/एक वटा टेबुल दिन्छु। जसले खाजा खान मान्छे बोलाएर सय जना पुर्याउँछ, उसलाई एक रुपैयाँ दिन्छु।’
एक दिनमा सय जना ग्राहक ल्याउन सके एक रुपैयाँ पाइने भयो। त्यो एक रुपैयाँले मलाई लोभ्यायो। फेरि त्यहीँ काम गर्न थालेँ। मान्छे बोलाउन टेबुल पुछ्दै ग्राहक खोज्न थालेँ। त्यतिबेला कहिले एक रुपैयाँ त कहिले तीन मोहरसम्म पैसा कमाएँ। आफ्नो टेबुलमा ५० जना आए भने ५० पैसा पाइन्थ्यो।
एक दिन त्यहीँको जेरी-स्वारी बनाउने मिस्त्रीले मलाई काम सिकाउँछु भन्न थाल्यो। उसले मलाई केही काम सिकायो पनि। एक दिन ऊ घर गयो, पकाउने मान्छे थिएन। मैले निम्की बनाउने भाँडाकुँडाको काम बिगारिदिएँ। त्यसपछि म भागेँ।
०००
त्यसपछि म एउटा नेवारको घरमा काम गर्न बसेँ। महिनाको १० रुपैयाँ तलबमा काम गर्ने सम्झौता थियो। त्यो घरमा म ७ महिना बसेँ। घरको जे-जे काम छ, त्यही गर्नुपर्थ्यो। घरमा दुई दिदीबहिनी थिए, एउटा पोखरा बस्थे। उनको आफन्त केटाले कहिलेकाहीँ २/४ रुपैयाँ दिन्थ्यो, नत्र मेरो तलब त्यही १० रुपैयाँ थियो।
सात महिना काम गरेपछि घरमुलीको आफन्तको पेन्ट काटेर मलाई सिलाइदिए। अनि उनीहरू दिदीबहिनीले एउटा बुट्टावाला कपडा ल्याएर मलाई ‘यो घर लैजाऊ’ भने। मैले जिन्दगीमा त्यस्तो बुट्टावाला कपडा देखेको भए पो! हुन्छ भनेँ। सात महिना काम गरेको मेरो तलब त्यहीँ कपडामै गइहाल्यो।
घर जाने बेलामा घरमुलीको त्यही आफन्तले दिएको ४ रुपैयाँ थियो, त्यहीँ लिएर म घर गएँ। घर पुग्दा म खाली हात थिएँ। त्यो समयका मान्छेहरू पनि कस्ता थिए! थोत्रा लुगा भिडाएर तलबै काटिदिन्थे।
०००
त्यो समयमा काठमाडौंमा घरैपिच्छे गलैँचा कारखाना थिए। मैले पनि गलैँचा कारखानामा काम थालेँ। तीन महिनासम्म सित्तैमा काम गरेँ। त्यसपछि पनि पैसा पाउने कुरो थिएन। कसलाई भनेर पैसा उठाउने हो र? अनि घर रङ्गाउने काम गर्न थालेँ। एउटा घर नापेर कामको कुरा टुंग्याइयो। त्यसबेला २५ देखि ५० हजारमा चाबहिलको आसपासमा एक रोपनी जग्गा आउँथ्यो। मैले २५ हजारको काम गरेँ।
त्यो पैसा पाएपछि जसले मलाई रङको काम सिकाएको थियो, उसैले ‘जग्गा किन, म बेचिदिन्छु’ भन्यो। मैले पहिलो पटक त्यत्रो पैसा देखेको थिएँ, लुकाएर राखेँ। जमिन किनिनँ। चामल र अरू सामान्य सामान किन्नका लागि मैले बाहिर-बाहिरबाट कमाएको पैसाले पुर्याएँ।
अनि त्यो २५ हजारले गलैँचा कारखाना खोलेँ, अर्को एकजनासँग मिलेर पैसा लगानी गरेँ। अन्तमा त्यो कारखाना पनि डुब्यो, पैसा पनि सकियो। म जस्ताको त्यस्तै भएँ। त्यो २५ हजारले एक रोपनी जग्गा किनेको भए कति राम्रो हुन्थ्यो! त्यसबेला २५ हजारमा खोलेको कारखानामा बुनेका २-३ थान गलैँचा अहिले पनि मसँग छन्।
मासु खान दशैं नै कुर्नुपर्थ्यो
पहिला काठमाडौंमा गोरेटो जस्तो बाटो थियो। चक्रपथमा पिच त थियो तर साँघुरो। लहरी गाडी चल्थ्यो। घरहरू निकै फाट्टफुट्ट थिए। पशुपति परैबाट स्पष्ट देखिन्थ्यो।
मान्छेहरूले अहिलेको जसरी राम्रा लुगा लगाउने क्षमता थिएन। खाँडीको लुगा लगाउँथेँ। आर्मी पुलिसको भटमास रङ्गको ड्रेस हुन्थ्यो। मैले पूरा पाइन्ट लगाएको खासै देखिनँ। धेरैजसो हाफपेन्ट लगाउँथेँ, त्यसमा पनि आइरन गरेर साइड साइडमा चुच्चो बनाइएको हुन्थ्यो।
मान्छेहरू एक पटक नुहाएपछि १५-२० दिनमा मात्रै नुहाउँथे। किनभने एउटै लुगा हुन्थ्यो, नुहाएपछि फेर्ने लुगा हुँदैन थियो र भएको लुगा सुक्न समय लाग्थ्यो। त्यसैले पनि हत्तपत्त मान्छेहरू नुहाउँदैनथे। मेरो पनि त्यहीँ अवस्था थियो।
बिहे भोजमा भने कतिपयले दौरा सुरुवाल लगाउँथेँ। त्यसबेला जन्तीलाई बाख्रोको मासु दिने चलन थियो। टपरीमा दिन्थे, त्यो पनि अलिअलि चुहिने पारेर। चिउरामा मासुको झोल हालेपछि टपरीबाट चुहिन्थ्यो। एक दुई पटक झोल हालेपछि फेरि कसैले नमागोस् भन्ने हुन्थ्यो जस्तो लाग्छ।
मान्छेसँग पैसा नहुँदा मासु खानका लागि दशैं नै कुर्नुपर्थ्यो। अरू बेला कसैले मासु खानै सक्दैनथे। अहिले त त्यस्तो छैन, धेरै फरक भइसक्यो। ५० वर्षको अवधिमा मैले धेरै ठूला परिवर्तन देखेँ।
जेठ २९, २०८२ बिहीबार १४:५७:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।