अमेरिका-इरान तनाव बढ्दा कच्चा तेलको मूल्य वृद्धि, सैन्य कर्मचारीका परिवारलाई स्वदेश फर्कन अनुमति

अमेरिका-इरान तनाव बढ्दा कच्चा तेलको मूल्य वृद्धि, सैन्य कर्मचारीका परिवारलाई स्वदेश फर्कन अनुमति

एजेन्सी : अमेरिका र इरानबीच बढ्दै गएको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भएको छ।

मंगलबार न्यूयोर्कमा दिउँसोको व्यापारमा अन्तर्राष्ट्रिय तेल बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य करिब ५ प्रतिशतले बढेर प्रति ब्यारेल ७० डलर पुगेको छ। यसैगरी, अमेरिकाको वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) को मूल्य पनि अप्रिलपछिको उच्चतम बिन्दुमा पुगेको छ।

कच्चा तेलको मूल्यमा यो वृद्धि केही घण्टाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आणविक सम्झौताको सम्बन्धमा जारी वार्तामा सफलताको आशा कम रहेको बताएपछि भएको हो।

तनावकै बीच अमेरिकाले बुधबार मध्यपूर्वमा रहेका अमेरिकी सैन्य कर्मचारीका परिवारलाई स्वदेश फर्कन अनुमति दिएको छ।

राष्ट्रपति ट्रम्पले अनावश्यक कर्मचारी फिर्ता बोलाइएको पुष्टि गर्दै मध्यपूर्व ‘खतरनाक ठाउँ’ भएको बताएका छन्। उनले इरानलाई आणविक हतियार प्राप्त गर्न नदिने अडान पनि दोहोर्याए। अमेरिकाले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न कूटनीति असफल भए सैन्य विकल्पबारे विचार गर्न सकिने चेतावनी दिएको छ।

यसैबीच, इजरायलले पनि इरान विरुद्ध कारबाही गर्ने धम्की दिएको छ। इजरायलले इरानलाई दशकौंदेखि सबैभन्दा कमजोर अवस्थामा रहेको र आक्रमणका लागि यो अवसर उपयुक्त भएको ठानेको छ।

उता, इरानका रक्षामन्त्रीले बुधबार कुनै पनि आक्रमणको जवाफमा 'बिना हिचकिचाहट' अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्ने बताएका छन्। उनको यो भनाइले तेल बजारमा सीधा प्रभाव पारेको छ।

इरानलाई नयाँ आणविक सम्झौतामा प्रवेश गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको ६० दिनको समयसीमा बिहीबार सकिँदैछ।

जेठ २९, २०८२ बिहीबार १२:३३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।