दिपलको विश्वव्यापी डेलिभरी ५ लाख नाघ्यो, नयाँ मोडेल र बजार विस्तारको योजना

दिपलको विश्वव्यापी डेलिभरी ५ लाख नाघ्यो, नयाँ मोडेल र बजार विस्तारको योजना

एजेन्सी : चांगान अटोमोबाइल अन्तर्गतको नयाँ इनर्जी भेहिकल (एनईभी) ब्रान्ड दिपलले विश्वभर पाँच लाख युनिट डेलिभरीको महत्त्वपूर्ण कोशेढुंगा पार गरेको छ।

कम्पनीका अनुसार, गएको मे महिनामा मात्र दिपलका २५ हजार ५२१ युनिट विद्युतीय सवारी साधन (ईभी) बिक्री भएका छन्। यो संख्या गत वर्षको मे महिनाको तुलनामा ७८ प्रतिशत र यो वर्षको अप्रिलको तुलनामा २७ प्रतिशतले बढी हो।

हाल दिपल ब्रान्डअन्तर्गत एसएल०३, एस०७, जी३१८, एल०७ र एस०९ गरी पाँच मोडल बिक्री भइरहेका छन्। यसैबीच, ६ सिट क्षमताको ठूलो एसयूभी दिपल एस०९ गएको मे २२ मा औपचारिक रूपमा सार्वजनिक भएको छ।

एस०९ मा अत्याधुनिक प्रविधियुक्त फिचरहरू समावेश छन्। यो हार्मोनी स्पेस ५ स्मार्ट ककपिट सिस्टम भएको पहिलो कार हो, जसमा १६:९ एस्पेक्ट रेसियो भएको २१.४ इन्चको ३के सिलिङ माउन्टेड रियर इन्टरटेन्मेन्ट सिस्टम छ। यसलाई ० देखि ७५ डिग्रीसम्म टिल्ट सकिन्छ।

इन्फोटेन्मेन्ट सिस्टममा डाइनामिक पानोरामिक साउन्ड, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, कस्टमाइजेबल सिन ब्लक्स र स्पासियल म्याजिक क्युब जस्ता कार्यहरू उपलब्ध छन्।

साथै, यसमा हुवावेको कियान कुन इन्टेलिजेन्ट एडीएस ३.३ ड्राइभिङ असिस्टेन्ट सिस्टम रहेको छ। दिपलले यो वर्षको अन्त्यसम्ममा एस०९ मा एडीएस४ अपग्रेड गर्ने योजना बनाएको छ।

डब्लुईडब्लुए आर्किटेक्चरमा आधारित यो नयाँ एडीएस४ सिस्टमले एन्ड टु एन्ड ल्याटेन्सी ५० प्रतिशत र ट्राफिक इफिसिएन्सी २० प्रतिशतले बढाउनुका साथै हार्ड ब्रेकिङ फ्रिक्वेन्सी ३० प्रतिशतले घटाउने कम्पनीले जनाएको छ।

दिपलले आउँदो वर्ष चीनमा ३०० वटा नयाँ एक्सपिरियन्स सेन्टर खोल्ने महत्त्वाकांक्षी योजना लिएको छ। दक्षिणपूर्व एसिया र मध्यपूर्वका बजारमा सफलतापूर्वक प्रवेश गरिसकेको दिपलले यो वर्ष युरोपमा पनि आफ्नो उपस्थिति जनाएको छ।

गत मेमा आयोजित दिपल ब्रान्ड नाइटमा सीईओ डेंग चेन्घाओले ‘स्मार्ट लिड २०३०’ विश्वव्यापी नीति सार्वजनिक गरेका थिए। यसअन्तर्गत सन् २०३० सम्ममा विश्वभर २० लाख कार बिक्री गर्ने लक्ष्य राखिएको छ। यो योजना कार्यान्वयनका लागि चांगानले ३० वटा नयाँ मोडल सार्वजनिक गर्नेछ।

जेठ २९, २०८२ बिहीबार ११:५९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।