बुटवल शहर नै चुरे पहिरोको उच्च जोखिममा, भूगर्भविद् भन्छन्- ‘अझ ठूलो दुर्घटना निम्तिन सक्छ’

बुटवल शहर नै चुरे पहिरोको उच्च जोखिममा, भूगर्भविद् भन्छन्- ‘अझ ठूलो दुर्घटना निम्तिन सक्छ’

बुटवल : झन्डै चार वर्षअघि, २०७८ भदौ ११, १३ र १४ गते बुटवल उपमहानगरपालिका-३, श्रवणडाँडाबाट खसेको लेदोसहितको पहिरो मिलनपथ, ज्योतिनगर र लक्ष्मीनगरका बस्तीमा पस्दा ठूलो क्षति भयो। पहिरोले १५ घर पूर्ण क्षति, ३० घर आंशिक क्षति र १२ घरमा लेदो पस्यो। त्यो पहिरो जनज्योति प्राथमिक विद्यालयको पछाडिबाट तलतिर झर्यो।

अहिले बर्खा सुरू हुँदैछ। चार वर्षअघिको त्यो घटना सम्झँदा ज्योतिनगर र लक्ष्मीनगरका बासिन्दामा अहिले पनि त्रसित हुन्छन्। बर्खा सुरू हुँदै गर्दा उनीहरू पुरानो नियति दोहोरिने हो कि भन्ने चिन्तामा छन्।  चुरेको काखमा रहेका यी बस्तीमा पहिरो गएको तीन वर्ष बितिसक्दा पनि दीर्घकालीन समाधानको उपाय खोजिएको छैन।

चुरे नियन्त्रणका लागि अल्पकालीन समाधान मात्र खोज्दा बुटवल चुरे पहिरोको जोखिमबाट मुक्त हुन सकेको छैन। पटक-पटकको पहिरोले लक्ष्मीनगर माथिको डाँडो धसिएको छ भने नुवाकोट क्षेत्रको डाँडो छियाछिया भएर फाटेको छ। यसले गर्दा ज्योतिनगर, लक्ष्मीनगर बस्ती मात्र होइन, सिंगो बुटवल शहर नै  चुरे पहिरोको जोखिममा छ।

चुरे बाट प्रभावित हुने लक्ष्मीनगर ज्याेतिनगर क्षेत्र।

बुटवल माथिको चुरे पहिल्यैदेखि नै जोखिम क्षेत्र हो। यो ठाउँमा २०५५ भदौ १९ र २० गते पनि ठूलो पहिरो खसेको थियो। त्यो पहिरोमा २१ घर पुरिएका थिए भने ५७ घर प्रभावित भएका थिए।

चुरेको भू-बनोट कमजोर रहेकाले बुटवलको लक्ष्मीनगर, ज्योतिनगर क्षेत्रका बस्ती अन्यत्र स्थानान्तरण गर्नुपर्ने विभिन्न अध्ययनले देखाएको छ। तर, त्यहाँ स्थानान्तरणभन्दा पनि बस्ती जोगाउनमै स्थानीय तह र राजनीतिक दल केन्द्रित छन्। भूगर्भविद् डा. रञ्जनकुमार दाहालले श्रवणडाँडा पहिलेको ठाउँबाट ५० देखि ८० मिटर तल धसिसकेको बताए।

‘पहिरोको शिर श्रवणडाँडामा छ। त्यहाँ २०७८ सालमा मात्रै १० देखि ३० मिटर तल धसकेको देखिन्छ। पहिरोको शिर साढे एक किलोमिटर लामो छ’, उनले भने।

अध्ययनविनाका योजना र मानवीय अतिक्रमण
चुरे करिब चार करोड वर्षपहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड हो। खुकुलो पत्रे चट्टान र महाभारत पर्वतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भएर तराईतर्फ बग्छन्। यसैले प्राकृतिक रूपले चुरे अत्यन्तै संवेदनशील मानिन्छ।

तर, यस्तो संवेदनशील चुरे क्षेत्र मानवीय अतिक्रमणको चपेटामा परेको छ। चुरेलाई जोगाउनतर्फ राजनीतिक दलहरूले दीर्घकालीन योजना बनाउँदैनन्। बरु, अध्ययनविना नै अल्पकालीन योजनाहरू चुरे क्षेत्रमा लागू गरिन्छन्। लक्ष्मीनगर, ज्योतिनगर क्षेत्र चुरेको तल भिरालो भागमा रहेकाले त्यहाँ बस्ती बस्नु उपयुक्त नभएको भूगर्भविद् बताउँछन्। तर, यसको सुनुवाइ कतै भएको छैन।

भूगर्भविद् प्रेम पौडेल भन्छन्, ‘चुरे संरक्षणको सट्टा यहाँ ठूला संरचना बनेका छन्। चुरेको भूगोलले त्यस्ता संरचना थेग्न सक्दैन। तर पनि संरचना बनाउने क्रम रोकिएको छैन।’ उनले संरचना बनाउँदा चुरेको अवस्था हेरेर बनाउनुपर्ने भए पनि त्योअनुसारको काम हुन नसकेको बताए।

‘चुरेमा बढी जोखिम जथाभावी खनिएका सडकले निम्त्याएको हो। योजनाविना नै बाटो खनिएको छ। बाटो निर्माण गर्दा वातावरणीय संवेदनशीलतालाई ध्यान दिइएन। जसका कारण जोखिम बढ्यो,’ उनले भने।

चुरे क्षेत्रमा बनेका सडक।

भूगर्भविद् पौडेलले भनेजस्तै अध्ययनविना नै ज्योतिनगर र लक्ष्मीनगरको बस्तीमाथि रिङरोडको ट्र्याक खोलिएको छ। त्यहाँ चक्रपथ निर्माणको काम पनि सुरु भएको छ। बुटवल पूर्व पाखापानीबाट पाल्पाको नुवाकोट जाने सडक बनाइएको छ। सिद्धार्थ केबुलकार र लुम्बिनी केवलकार पनि चुरे क्षेत्रमा निर्माण भएका छन्।

‘चुरेमा संरचना नै बनाउनु हुँदैन भन्ने त होइन। तर, त्यसले संरचना थेग्न सक्छ वा सक्दैन, त्यो मूल प्रश्न हो। ठूला संरचना निर्माण गर्दा जोखिम बढ्ने हुन्छ,’ उनले भने।

काम चलाउ नियन्त्रणका प्रयास
चुरे पहिरो सामान्य ढंगले व्यवस्थित नहुने जान्दाजान्दै पनि स्थानीय सरकारले तत्कालीन अवस्थालाई मात्र ध्यानमा राखेर ‘काम चलाउ’ नियन्त्रणका प्रयास गरेको भूगर्भविद्हरूको भनाइ छ। यसले ज्योतिनगर, लक्ष्मीनगरमा बर्सेनि पहिरो जान सक्ने विज्ञहरू बताउँछन्।

‘गुरुयोजना बनाएर काम गरेपछि मात्र यसको दीर्घकालीन समाधान हुने हो। तर, राज्य संयन्त्र यसो नगरी स्थानीयलाई तत्काल काम गरेको देखाउन टालटुले काम गरेर पन्छिन खोज्दैछ,’ भूगर्भविद् डा. रञ्जनकुमार दाहालले भने।

दाहालले भनेजस्तै ज्योतिनगरमा पहिरो गएपछि त्यहाँ राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिबाट २ करोड रुपैयाँ विनियोजन भई ग्याबिन वाल र ग्याबिन चेक ड्याम लगाउने काम भएको थियो। यो वर्ष पनि पहिरो जोखिम नियन्त्रण र पानी व्यवस्थापनका लागि २० लाखको काम भएको छ।

बुटवलको चुरे पहाडमा पहिरो रोकथामका उपाय गरिएको।

भूगर्भविद् प्रेम पौडेलले ‘दीर्घकालीन योजनाअनुसार काम नभएको र राज्यले यसलाई कम प्राथमिकतामा राखेको हो कि’ जस्तो देखिएको बताए। आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन भएकाले केही काम आगामी वर्ष देखिने गरी हुने भए पनि जमिनभित्रको पानी र सतहमा बगिरहेको पानीको व्यवस्थापन पहिरो नियन्त्रणको पहिलो प्राथमिकता हुनुपर्ने उनले बताए।

बुटवलको पहिरो नियन्त्रणका लागि सामान्य अध्ययन र अनुसन्धानविना अनावश्यक ढंगले पहिरोलाई खोतल्ने र रुखहरू काट्ने काम भइरहेको भूगर्भविद् डा. रञ्जन दाहालले बताए। ठूलो डाँडाको जटिल पहिरो नियन्त्रण गर्न विज्ञता नभएका सिभिल इन्जिनियर वा वनविज्ञबाट राय लिएर काम गर्दा पनि समस्या आएको उनको भनाइ छ।

‘हामीले बेसिक फन्डामेन्टल बिर्सियौं। पहिरो आएपछि कहाँबाट आयो, कसरी आयो, त्यो नियन्त्रणका लागि सुरुमा के कामको थालनी गर्नुपर्ने हो, यो हामीले अध्ययन गर्नुपर्दथ्यो। तर, यसलाई सामान्य ठानेर गिजोल्ने काम गरेका छौँ। यसले त्यहाँ अझ ठूलो दुर्घटना निम्त्याउन सक्छ’, उनले भने।

बुटवल उपमहानगरपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख योगेश चापागाईले पछिल्लो समयमा ज्योतिनगरको पहिरोले ठूलो समस्या परेका कारणले नगरले सङ्घीय सरकारको सहयोगमा तटबन्ध निर्माण, पानीको मुहान तर्काउने, खोल्सा व्यवस्थापन लगायतका कामहरू गरेको बताए।

चुरे बग्ने खोल्सा अतिक्रमण
२०७८ सालमा चुरे क्षेत्रबाट बगेको लेदो बस्तीमा जानुको मुख्य कारण थियो- ‘लेदोको निकास नहुनु’। चुरेबाट बग्ने आधा दर्जनभन्दा बढी खोल्सीहरू मानवीय अतिक्रमणका कारण साँघुरिँदै गएका छन्। स्थलगत अध्ययन गर्दा चुरेको शिरबाट मिलनपथ हुँदै पश्चिम गोलपार्क पुगेको खोल्सा साँघुरिएको पाइएको छ।

मिलनपथमा मात्र होइन, ज्योतिनगर र लक्ष्मीनगरका दुई ठूला खोल्साहरू पनि मानवीय अतिक्रमणका कारण साँघुरिँदै गएका छन्। त्यहाँ विगत १७ वर्षदेखि सुखौरा खोलामा मिसिने खोल्सालाई अतिक्रमण गरी साँघुरो बनाइएको छ। केही स्थानमा त बस्ती नै बसेको छ।

अल्पकालिन पहिराे राेकथामकाे प्रयास गरिएको क्षेत्र।

२०३५ सालमा तत्कालीन राजा वीरेन्द्रले लक्ष्मीनगर, ज्योतिनगर, चिसापानी, चिडियाखोला क्षेत्रका बस्तीलाई स्थानान्तरण गरेर चुरे संरक्षण कार्यक्रम सुरू गरेका थिए। उनीहरूलाई बुटवलको तामनगर र बर्दघाट क्षेत्रमा जग्गा उपलब्ध गराइएको थियो। तर, सरकारले बस्ती स्थानान्तरण गरे पनि त्यो जग्गा सरकारीकरण भएन।

पुनः जोखिम क्षेत्रमै उनीहरूले अतिक्रमण गर्दै गए। पछि उक्त जग्गा स्थानीयकै नाममा रह्यो। चुरे संरक्षण हुनुको सट्टा बस्ती बढ्दै गयो। जसका कारण चुरेबाट बग्ने बर्खे भेलको निकास थुन्ने गरी बसेको बस्तीका कारण अहिले बुटवल शहर नै पहिरोको जोखिममा परेको हो।

पाखापानी क्षेत्र पनि उस्तै
२०७७ सालमा बुटवल-२ पाखापानी क्षेत्रमा माथिबाट आएको पहिरोका कारण पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध हुने गरी पहिरो खसेको थियो। पहिरो खसेपछि सडक सफा गरेर राजमार्ग सञ्चालन गरियो।

तर, अहिलेसम्म पनि त्यो ठाउँमा पहिरो नियन्त्रणका लागि दीर्घकालीन समाधान खोजिएको छैन। तार, जाली लगाएर थामथुम पार्ने काम मात्र गरियो। अझ अहिले त त्यहाँ रुख काटेर बुटवल-चन्द्रौटा सडक विस्तार गरिँदै छ। यसले सो क्षेत्रमा पनि झन् ठूलो जोखिम निम्त्याउने डर छ।

पाखापानी क्षेत्रको पहिरो।

बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष सुनील शाक्य जोखिम क्षेत्रमा क्षतिको न्यूनीकरणका लागि आयोजना प्रमुखसँग छलफल भइरहेको बताउँछन्। ‘चुरे संवेदनशील क्षेत्र हो। यसलाई जतिसक्दो कम चलाएर सडक विस्तार गर्नुपर्छ भनेर हामीले भनेका छौं,’ उनले भने।

बुटवल-चन्द्रौटा सडक योजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले सो स्थान चुरे क्षेत्र भएको कारण र प्राविधिक दृष्टिकोणबाट बाटोको स्लोप (भिरालो) बनाउनुपर्ने भएकाले केही माथिसम्म पनि रुख काटिएको बताइन्। उनले चुरेको माथिल्लो भागभन्दा पनि बाटोभन्दा तलको भागलाई बढी प्रयोग गरेर सडक विस्तार गर्ने बताइन्।

जेठ २९, २०८२ बिहीबार १०:०९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।