भैरहवामा दर्ताविनै सञ्चालित आठ क्लिनिक र दुई ल्याब बन्द

भैरहवा : जिल्लास्तरीय संयुक्त अनुगमन समितिले रुपन्देहीको भैरहवामा दर्ता तथा मापदण्डविना सञ्चालित १० वटा स्वास्थ्य संस्था बन्द गरेको छ। ती मध्ये ८ वटा क्लिनिक र २ वटा प्याथोलोजी ल्याब रहेका छन्।
बुधबार भैरहवा क्षेत्रमा गरिएको अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताविनै सञ्चालनमा रहेको पाइएपछि ती संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले जानकारी दिए। कुल १४ वटा निजी स्वास्थ्य संस्थामा अनुगमन गरिएकोमा १० वटामाथि कारबाही गरिएको उनले बताए।
‘दर्ताविनै गैरकानुनी रुपमा स्वास्थ्य संस्था सञ्चालनमा रहेको भन्दै प्रशासनमा उजुरी आएको थियो,’ रानाले भने, ‘यसलाई आधार मानेर अनुगमन गर्दा अधिकांश गैरकानुनी रुपमा सञ्चालनमा रहेको पाइएको छ। कतिपय क्लिनिकले बिरामी भर्ना गरेरै उपचार गरिरहेको पनि पाइयो, त्यस्तालाई तत्कालका लागि बन्द गरेका छौं।’
अनुगमनका क्रममा बन्द गरिएका अधिकांश क्लिनिक फार्मेसीसँगै सञ्चालनमा रहेको पाइएको थियो। फार्मेसी सञ्चालनको अनुमति लिए पनि क्लिनिक सञ्चालनको अनुमति नलिएको पाइएपछि बन्द गरिएको हो।
यस्तै, केही स्वास्थ्य संस्थाले स्वास्थ्य कार्यालय, रुपन्देही र केहीले सिद्धार्थनगर नगरपालिकाबाट अनुमति नै नलिइ सञ्चालनमा रहेको पाइएको स्वास्थ्य कार्यालय, रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले बताए। यी संस्थालाई तत्काल दर्ता प्रक्रियामा जान निर्देशन दिइएको उनको भनाइ छ।
बन्द गरिएका क्लिनिकहरुमा सिद्धार्थनगरमा सञ्चालित शिवम् क्लिनिक प्रालि, महादेजस फार्मेसीमा सञ्चालित क्लिनिक, होमटाउन फार्मेसीमा सञ्चालित क्लिनिक, श्रीनगर अप्टिकल सेन्टरमा सञ्चालित क्लिनिक, नेपाल चम्सा पसलमा सञ्चालित क्लिनिक, जिविका मेडिकल प्रालिमा सञ्चालित क्लिनिक, श्रद्धा क्लिनिक र रोशिष प्याथोलोजी एण्ड क्लिनिक रहेका छन्।
यस्तै, लुम्बिनी प्याथोलोजी र न्यु ओम प्याथोलोजी ल्याब पनि बन्द गरिएको छ। बन्द गरिएका यी क्लिनिक र ल्याब सिद्धार्थनगरका वडा नम्बर १२, १३ र ७ का हुन्। ती मध्ये दर्ता नभएका र मापदण्ड नपुगेका अधिकांश भैरहवास्थित जिल्ला अस्पताल भीम अस्पताल आसपासका छन्। सञ्चालन अनुमति नलिँदासम्म यी क्लिनिक र ल्याब सञ्चालनमा रोक लगाइएको अनुगमन समितिले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भएको अनुगमनमा सिद्धार्थनगर नगरपालिका, स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी, सिद्धार्थ उद्योग वाणिज्य संघ, भीम अस्पतालका चिकित्सक, उपभोक्ता हित संरक्षण मञ्च, औषधि व्यवसायी संघ लगायतका प्रमुख तथा प्रतिनिधि सहभागी थिए।
अनुगमन समितिले यसअघि गत आइतबार मात्रै दर्ताविनै सञ्चालित बुटवलका ६ वटा क्लिनिक समेत बन्द गरेको थियो। पाइलैपिच्छे क्लिनिक खोल्ने तर दर्ता र मापदण्ड पूरा नगरी सञ्चालन गर्ने परिपाटी बढ्दै गएको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी रानाले नियमित अनुगमन र उजुरीका आधारमा त्यस्ता संस्थाहरुलाई कानुनी दायरामा ल्याइने बताए।
जेठ २९, २०८२ बिहीबार ०९:२५:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।