अमेरिकी दङ्गामा चोरी भएको आइफोनले चोरलाई दियो चेतावनी : कृपया फोन फिर्ता गर, ट्र्याक भइरहेछ

एजेन्सी : अमेरिकाको लस एन्जलसमा हालै भएको हिंसात्मक झडप र दंगाको क्रममा एप्पल स्टोरबाट चोरी गरिएका केही आईफोन प्रयोगविहीन बनेका छन्। एप्पलको विशेष सुरक्षा प्रणालीका कारण ती फोनले चोरी भएको चेतावनी सन्देश देखाएका हुन्।
दंगाकारीहरूले एप्पल स्टोरबाट ठूलो संख्यामा आईफोनहरू लुटेका थिए। तर, चोरिएका फोनहरू अन गर्दा त्यसको स्क्रिनमा ‘कृपया फोन एप्पल स्टोरमा फिर्ता गर्नुहोस्, यो उपकरण लक गरिएको छ र ट्र्याक भइरहेको छ। स्थानीय प्रहरीलाई जानकारी गराइँदैछ’ भन्ने सन्देश देखिएको थियो। यो भएसँगै चोरी भएका नयाँ आइफोनहरू निष्क्रिय बनेका हुन्।
लस एन्जलसको डाउनटाउन क्षेत्रमा आप्रवासीहरू विरुद्ध भइरहेको कारबाहीको विरोधमा भएको प्रदर्शन हिंसात्मक झडप र दंगामा परिणत भएसँगै पसलहरूमा तोडफोड तथा लुटपाट भएको थियो।
एप्पलले आफ्ना स्टोरहरूमा राखिएका डेमो फोनहरूमा विशेष प्रकारको सफ्टवेयर प्रयोग गर्छ। यो सफ्टवेयरले फोन स्टोरबाट बाहिर निकालिनेबित्तिकै स्वतः ट्र्याकिङ सुरू गरी उपकरणलाई लक गर्छ र चेतावनी सन्देश देखाउँछ। यो सुरक्षा सुविधा केवल डेमो फोनका लागि मात्र हो, सामान्य ग्राहकले खरिद गर्ने फोनमा यो प्रणाली हुँदैन। स्टोरबाट चोरी हुनबाट रोक्न एप्पलले वर्षौंदेखि यो प्रविधि प्रयोग गर्दै आएको छ।
सामाजिक सञ्जालमा भाइरल भएका धेरै भिडियोमा दंगाकारीहरूले एप्पल स्टोरबाट फोन चोरेको र अन गर्नेबित्तिकै चेतावनी सन्देश देखिएर फोन निष्क्रिय भएको दृश्य देख्न सकिन्छ।
लुटपाटको क्रममा एप्पल स्टोरबाहेक अन्य धेरै पसल पनि प्रभावित भएका छन्। दंगाकारीहरूले एक मलमा रहेको जारा स्टोरको ढोका फोडेर सामान लुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल छन्। यस्तै, एडिडास स्टोर, फार्मेसी, गाँजा पसल र गहना पसलहरूमा पनि तोडफोड र लुटपाट भएको थियो।
लस एन्जलस प्रहरी विभागका अधिकारी क्रिस मिलरका अनुसार एप्पल स्टोरबाट चोरी गर्दै गरेको अवस्थामा एक महिलालाई रंगेहात पक्राउ गरिएको छ।
जेठ २९, २०८२ बिहीबार ०८:३२:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।