प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्दै, नियमित कार्यसूची प्रभावित हुने सम्भावना

प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्दै, नियमित कार्यसूची प्रभावित हुने सम्भावना

काठमाडौं : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्ने गरी समय निर्धारण गरिएको छ। तर, 'भिजिट भिसा' प्रकरणमा विपक्षी दलहरूको निरन्तर अवरोधका कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नेमा अन्योल कायमै छ।

विपक्षी दलहरूले यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका छन्। यस विषयमा दलहरूबिच पटक–पटक छलफल भएपनि अहिलेसम्म कुनै निष्कर्ष निस्कन सकेको छैन।

यदि बैठक नियमित रुपमा सञ्चालन भएमा आजको सम्भावित कार्यसूचीमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले 'आर्थिक वर्ष २०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस्' भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको छ।

यसैगरी, सम्भावित कार्यसूचीअनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले 'सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२' पेस गर्ने कार्यक्रम छ।

साथै, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरूबारे जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको अवरोधका कारण पछिल्ला दिनहरूमा संसद्को बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसक्दा महत्त्वपूर्ण विधेयक तथा छलफलहरू प्रभावित भएका छन्।

जेठ २९, २०८२ बिहीबार ०७:३८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।