देशका यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। उता, कोशी प्रदेशका अधिकांश भूभागमा भने मनसुनी वायुको प्रभाव छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यी वायुको प्रभावका कारण हाल कोशी, मधेश, बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको महाशाखाले जनाएको छ।
अहिले कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा यस्तो वर्षा हुने सम्भावना रहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ। यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पनि देशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा हुने देखिन्छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
जेठ २९, २०८२ बिहीबार ०७:१२:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।