काठमाडौँ महानगरका पूर्व कार्यकारी प्रमुखसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा, चार करोड हिनामिनाको आरोप

काठमाडौँ महानगरका पूर्व कार्यकारी प्रमुखसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा, चार करोड हिनामिनाको आरोप

काठमाडौं : सामाखुसी कोरिडोरको ढल निर्माण गर्ने ठेक्कामा कम रकम कबोलेको कम्पनीलाई नदिई बढी रकम कबोल्नेलाई ठेक्का दिएर अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा चार करोड ३१ लाख ७२ हजार रुपैयाँ दुरुपयोग गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो। परियारसँगै अख्तियारले बोलपत्र मूल्याङ्कन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाललाई प्रतिवादी बनाएको छ।

ठेक्का प्रक्रियामा समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३ सय २५ रुपैयाँ ६३ पैसा कबोल गरेको र कल्पवृक्ष कोहिनुर जेभीले २२ करोड ४० लाख ९४ हजार ६ सय १२ रुपैयाँ ९५ पैसा कबोल गरेकोमा सो ठेक्का कल्पवृक्षले पाएको थियो।

कम रकम कबोल गरेको समानान्तर निर्माण सेवा प्रालिलाई ठेक्का नदिई कल्पवृक्षलाई दिएर अनियमितता गरेको अख्तियारको दाबी छ। महानगरबाट सरुवा भएका परियार अहिले सूचना तथा प्रसारण विभागको महानिर्देशक छन्।

जेठ २८, २०८२ बुधबार १७:०७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।