आफताब आलमको भेषमा देखिए प्रभात लामा, इँटा भट्टाको मुद्दामा व्यङ्ग्य

काठमाडौं : दर्शकलाई हसाउन मञ्चमा उत्रिनु आफैँमा एउटा चुनौती हो। यही चुनौतीलाई स्वीकार गर्दै कमेडियन प्रभात लामाले लोकप्रिय टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट वीथ च्याम्पियन’को पछिल्लो एपिसोडमा दमदार प्रस्तुति दिएका छन्। उनी यसपटक पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफताब आलमको क्यारेक्टरमा देखा परे।
मंगलबार प्रसारित कार्यक्रममा लामाले आलमकै विशिष्ट हाउभाउ, बोल्ने शैली र ‘ठटठट ठट ठट्टा गर्नुहुन्छ’ भन्ने थेगोको ठ्याक्कै नक्कल गर्दै स्टेजमा प्रवेश गरे। उनले आलममाथि लागेका इँटाभट्टाको ज्युँदै मान्छे जलाएको र वकिललाई गरगहना दिएको प्रसङ्गलाई समेत कमेडीको विषय बनाएर प्रस्तुत गर्दा हलमा हाँसो र तालीको पर्रा छुट्यो।
दर्शकदीर्घाबाट आएको तालीको गडगडाहटले उनको प्रस्तुतिलाई थप ऊर्जा दिएको थियो।
कार्यक्रमका अतिथि बनेर आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू डा. तोसिमा कार्की, सुमना श्रेष्ठ, नीशा डाँगी र असिम साह लगायत पनि प्रभात लामाको अभिनय र व्यङ्ग्यबाट मज्जाले प्रभावित भएका देखिन्थे। उनीहरू बेलाबेलामा टाउको हल्लाउँदै उनको प्रस्तुतिमा समर्थन जनाइरहेका थिए।
लामाले यसअघि पनि पूर्वमेयर केशव स्थापित, वैज्ञानिक महावीर पुन, अभिनेता राजेन्द्र खड्गी र राजेश हमालको क्यारिकेचर गरिसकेका छन्। यद्यपि, दर्शकमाझ उनको व्यक्तिगत पहिचान अझै बलियो गरी स्थापित हुन सकेको छैन।
जेठ २८, २०८२ बुधबार १४:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।