एनपिएल भ्रष्टाचार छानविनमा क्यान नेतृत्वलाई कार्यदलको चेतावनी ‘प्रमाण पठाउनु, गुमराहमा राख्न नखोज्नु’

एनपिएल भ्रष्टाचार छानविनमा क्यान नेतृत्वलाई कार्यदलको चेतावनी ‘प्रमाण पठाउनु, गुमराहमा राख्न नखोज्नु’

काठमाडौं :  नेपाल प्रिमियर लिगको पहिलो शृङ्खलामा भएको बदमासीबारे परेको उजुरीमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद्को ‘नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता छानबिन कार्यदल’ ले नेपाल क्रिकेट संघले छानबिनलाई गुमराहमा राख्न खोजेको भन्दै पुन पत्र पठाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र खेलकुद मन्त्रालयको निर्देशन अनुसार एनपिएलको आयोजनाकोक्रममा भएको हिनामिना र भ्रष्टाचारबारे छानबिन गर्न परिषद्ले गठन गरेको छानबिन कार्यदलले जेठ १४ मा सक्कल कागजातहरू पेस गर्न ४८ घण्टाको समय दिएर पत्र पठाएको थियो।

सो पत्रको जवाफ क्यानका सचिव पारस खड्काको हस्ताक्षरमा जेठ २१ मा बुझाइएको थियो। छानबिन कार्यदलले एनपिएल आयोजनाको निर्णय र त्यसमा भएका आर्थिक कारोबारबारे सक्कल प्रमाणसहित मागेकोमा खड्काको हस्ताक्षर रहेको पत्रमा प्रमाण भन्दा दाबीहरू र मागेका कागजपत्रहरूमध्ये पनि केहीको मात्र फोटोकपी मात्र पठाएको थियो।

क्यानले छानविन कार्यदललाई पठाएको पत्र जसलाई समितीले गुमराहमा राख्ने प्रयास गरेको भनेर अर्को पत्र पठाएको छ।क्यानबाट आएको पत्रमा ‘माग गरे बमोजिम अपूर्ण विवरणको प्रतिलिपि संलग्न गरी संघका सचिव पारस खड्काको फरक हस्ताक्षर गरी परिषद्बाट गठित कार्यदललाई गुमराहमा राखी सक्कल कागजात माग गरेकोमा केही कागजातहरूको प्रतिलिपि संलग्न गरी पठाइएको’ भन्दै पुन १४ बुँदे पत्रसहित जवाफ र कागजातहरू माग गरेको छ।

क्यानले पठाएको जवाफमा स्पष्ट जवाफ नदिई केवल झारा टार्ने किसिमबाट जवाफ दिई छानबिन कार्यमा पूर्ण असहयोग गरेको र औचित्यहीन ढङ्गबाट छानबिन कार्यदलको कार्यमा बाधा व्यवधान खडा गरी कानून विपरीतको काम गरेको समेत उल्लेख छ।

छानबिन कार्यदल संयोजक रञ्जना प्रधानको हस्ताक्षर रहेको पत्रमा पत्र अनुसार माग गरेका कागजपत्र र विवरणहरू २४ घण्टाभित्र बुझाउन अन्तिम पटक पत्र पठाएको उल्लेख गरिएको छ।

एनपिएलको आयोजनामा कानुन विपरीत काम

छानबिन कार्यदलले माग गरेका कागजपत्र र विवरणहरूमा एनपिएलका लागि कम्पनी छनौट गर्न निकालिएको टेन्डरका लागि तय गरिएको रकमको मापदण्ड, आधार र प्रक्रिया सहितको निर्णय, स्टार स्पोर्ट्सलाई प्रत्यक्ष प्रसारण गर्न दिँदा अपनाइएका कानुनी आधार र सो सम्बन्धी निर्णय र सम्झौता पत्रको सक्कलै कागजात, टिएमसी भन्ने विदेशी कम्पनी नेपालको कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भई कायम रही रहेको अवस्थामा युएई, दुबईमा दर्ता रहेको सोही कम्पनीको नामबाट किन सेवा खरिद गरेको भनेर प्रश्न सोधेको छ।

छानविन कार्यदलले क्यानलाई पठाएको पहिलो पत्र। टिएमसी स्पोर्ट्स म्यानेजमेन्ट दुबईलाई प्रडक्सन र ब्रोडकास्ट अधिकार सेवा खरिदको सम्झौता गरे बापत प्राप्त आम्दानी कर छली गरी विदेशी मुद्रा दुरुपयोग गरी आर्थिक हिनामिना गरेको हो या हैन, त्यस किसिमको कार्य गर्न कुन ऐन, नियमले अधिकार प्रदान गरेको थियो,सङ्घ राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृत विधान बमोजिम स्थापित संस्था भएकोले सार्वजनिक खरिद ऐन, सार्वजनिक खरिद नियमावली, र राष्ट्रिय खेलकुद विकास ऐन विपरीत काम गर्न मिल्छ ? भनेर प्रश्न सोधिएको छ।

यसले छानबिन कार्यदलको छानविनमा एनपिएलको आयोजनाकोक्रममा क्यान पदाधिकारीहरूले सार्वजनिक खरिद ऐन, नियमावली र राष्ट्रिय खेलकुद विकास ऐन विपरीत काम गरेको देखिन्छ।

टिसिएमसँगको सम्बन्ध गैर कानुनी

पत्रमा संघको निर्वाचित अध्यक्षको हैसियतले भन्दै चतुरबहादुर चन्दलाई संघको विधान, नेपालको प्रचलित ऐन, कानून विपरीत उक्त टिएमसी भन्ने विदेशी कम्पनीलाई कुन आधारमा एकलौटी ढंगबाट प्रसारण गर्ने जिम्मा दिइएको हो भनेर समेत सोधेकाले टिसिएमसँगको सम्झौता नेपालको प्रचलित कानुन विपरीत रहेको देखिन्छ।

यसैगरि क्यानले मिति २०८० असोज ६ गते बसेको केन्द्रीय कार्य समितिको बैठकको निर्णयमा मा नेपाल प्रिमियर लिग २०२४ मार्च/अप्रिल मा आयोजना गर्ने गरी आवश्यक तयारी अगाडि बढाउने निर्णय गरेको देखियो तर प्रतियोगिता झन्डै एक वर्ष ढिलो हुँदा समेत सार्वजनिक खरिद ऐन नियमावली, प्रचलित ऐन कानुनको बर्खिलाप हुनेगरी विदेशी कम्पनीसँग सम्झौता गरेको उल्लेख गर्दै त्यसको कारण माग गरेको छ।

एनपिएलमा विदेशी परामर्शदाता र नेपाली कानुनी सल्लाहकार राखेको तर विदेशी परामर्शदाता नियुक्त गर्दा राष्ट्रिय खेलकुद विकास ऐन विपरीत काम गरेको भन्दै त्यसको कारण समेत माग गरिएको छ।

छानविन कार्यदलले क्यानलाई पठाएको दोस्रो पत्र। स्पोर्ट्स म्यानेजमेन्टलाई सामग्री उत्पादन र प्रसारणको अधिकारसहित खरिद सम्झौता गरेकाले सो विदेशी कम्पनीलाई के, कसरी र कुन माध्यमबाट भुक्तानी गरेको हो र सो काम गर्न प्रचलित कानुनले अधिकार दिएको छ या छैन भनेर समेत सोधेको छ।

के हो विषय ?

नेपाल क्रिकेट संघले मंसिर १५ देखि पुस ६ सम्म नेपाल प्रिमियर लिगको आयोजना गर्दा क्रिकेट मैदानबाट खेल सम्बन्धी अनलाइन जुवा खेलाउने कम्पनीको सरोगेट विज्ञापन राखेर प्रचार गर्ने, अपारदर्शी रूपमा ब्रान्ड लजिकलाई प्रसारण र व्यावसायिक अधिकार दिने, नेपाल विज्ञापन बोर्डको अनुमति नै नलिई विदेशी विज्ञापन राख्ने, सार्वजनिक खरिद कानुन विपरीत प्रतिस्पर्धा नगराई साझेदार कम्पनी छान्ने र एनपिएलको प्रसारण र व्यवस्थापनमा विदेशी शङ्कास्पद कम्पनी टिसिएमलाई जिम्मा दिने निर्णय गरेको थियो।

क्यान सचिव पारस खड्काको संयोजकत्वमा बनेको एनपिएल आयोजक समितिको गैर कानुनी र शङ्कास्पद गतिविधिबारे उकेराले लिग सुरु हुनु अगाडिबाटै प्रमाणसहित समाचार प्रकाशित गर्दै आएको थियो।

एनपिएल आयोजनाकोक्रममा टिसिएमसँग भएको शंकास्पद कारोबार सम्बन्धी प्रमाणसहित २०८१ माघ १३ मा उकेरामा प्रकाशित समाचार।उकेरामा प्रकाशित प्रमाणसहितको समाचारको आधारमा मैदानमा राखिएको वुल्फत्रिपलसेभेनको विज्ञापन अनलाइन जुवा खेलाउने कम्पनीको प्रचारको नियतले राखेको भन्दै प्रहरी प्रधान कार्यालयले गृह हुँदै क्यानमा पत्राचार गरे पनि क्यानले टेरेको थिएन। अन्य केही टिमले समेत जर्सीमा यस्तै जुवा खेलाउने कम्पनीको सरोगेट ब्रान्डको प्रचार गरेका थिए।

उकेराको समाचारको आधारमा विज्ञापन बोर्डले समेत अनुमति नलिई विदेशी विज्ञापन गरेको भन्दै पत्र पठाए पनि क्यानले वास्ता गरेन। टिसिएमसँगको शङ्कास्पद सम्बन्ध र कारोबार, ब्रान्ड लजिकसँगको शङ्कास्पद कारोबार, प्रायोजन र टिकट विक्रीको अपारदर्शी कारोबार, प्रायोजकसँगको सम्झौताको आधार र रकम लुकाइएको र विजेता टिमले जितेको पुरस्कार समेत नपाएकोबारे उकेराले प्रमाणसहित निरन्तर समाचार प्रकाशित गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एनपिएल आयोजनाबारे छानबिन गर्न खेलकुद मन्त्रालयलाई निर्देशन दिएको थियो।

सोही निर्देशन अनुसार मन्त्रालयले छानबिन गर्न राखेपलाई पत्राचार गरेपछि राखेपले छानबिन समिति गठन गरेर छानबिन गरिरहेको छ।

पत्रमा सोधिएका प्रश्न र माग गरिएका विषयहरू

क- नेपाल प्रिमियर लिग (NPL) गर्ने सम्बन्धी त्यस संघको निर्णयको सक्कलै प्रति।

ख- केन्द्रीय कार्य समितिले (NPL) तयारी समिति गठन गर्ने गरी गरिएको त्यस संघको निर्णयको सक्कलै प्रति ।

ग- त्यस संघको केन्द्रीय कार्य समितिको निर्णय अनुसार गठित NPL. तयारी समितिले ८० प्रतिशत भन्दा बढी कार्य गरेको भन्ने सम्बन्धमा उक्त समितिबाट बेला बेलामा भए गरेका निर्णयका सक्कलै प्रति ।

घ- परिचालन परिषद् (Governing Council) गठन गर्ने सम्बन्धी नेपाल क्रिकेट सङ्घ केन्द्रीय कार्य समितिले गरेको निर्णयको सक्कलै प्रति ।

ङ-First Date of Publication 11th Sept. 2024 को Invitation for Bids No.- CAN/02 को सूचना प्रकाशनका लागि तय गरिएको रकमको मापदण्ड, आधार र प्रक्रिया सहितको निर्णयको प्रतिलिपि ।

च- Star Sports Channel लाई प्रत्यक्ष प्रसारण गर्न दिँदा अपनाइएका कानुनी आधार र सो सम्बन्धी निर्णय र सम्झौता पत्रको सक्कलै कागजातहरू ।

छ: TCM भन्ने विदेशी कम्पनी नेपालको कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भई कायम रही रहेको अवस्थामा युएई, दुबई मा दर्ता रहेको सोही कम्पनीको नामबाट किन सेवा खरिद गर्नु भयो? स्पष्ट जवाफ पेस गर्नु हुन।

ज- TCM Sports Management LLC DUBAI नाइँ Production/Board Cast Right सेवा खरिदको सम्झौता गरे बापत प्राप्त आम्दानी कर छली गरी विदेशी मुद्रा दुरुपयोग गरी आर्थिक हिनामिना गर्नु भएको हो ? त्यस किसिमको कार्य गर्न तपाईँलाई कुन ऐन, नियमले अधिकार प्रदान गरेको थियो स्पष्ट खुलाउन हुन।

झ- तपाई अध्यक्ष रहेको नेपाल क्रिकेट सङ्घ राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृत विधान बमोजिम स्थापित संस्था भएकोले नेपालमा रहेको सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ र राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४४।२० विपरीत कार्य गर्न मिल्छ स्पष्ट खुलाउन हुन।

ञ-तपाई नेपाल क्रिकेट संघको निर्वाचित अध्यक्षको हैसियतले संघको विधान, नेपालको प्रचलित ऐन, कानून विपरीत उक्त TCM भन्ने विदेशी कम्पनीलाई कुन आधारमा एकलौटी ढंगबाट प्रसारण गर्ने अधिकार दिएको?

ट- नेपाल क्रिकेट संघले मिति २०८० असोज ६ गते बसेको केन्द्रीय कार्य समितिको बैठकको निर्णय न. ११ मा नेपाल प्रिमियर लिग नेपाल क्रिकेट सङ्घ आफैले आगामी मार्च/अप्रिल २०२४ मा आयोजना गर्ने गरी आवश्यक तयारी अगाडि बढाउने भनी निर्णय गरेको देखियो तर उक्त प्रतियोगिता भने झन्डै एक वर्ष भन्दा ढिलो आयोजना गरेको देखिएकोमा किन सार्वजनिक खरिद ऐन नियमावली, प्रचलित ऐन कानुनको बर्खिलाप हुनेगरी विदेशी कम्पनीसँग सम्झौता गर्नु भएको हो। स्पष्ट खुलाउनु हुन।

ठ- उक्त (NPL) प्रतियोगितामा विदेशी परामर्शदाता र नेपाली कानुनी सल्लाहकार राखेको देखियो । तपाईँले उक्त (NPL) प्रतियोगिताका लागि विदेशी परामर्शदाता नियुक्त गर्दा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४४ (२) विपरीत किन कार्य किन गर्नु भएको हो स्पष्ट खुलाउनु हुन।

ड- TCM Sports Management LLC DUBAI लाई Production/Board Cast Right सहित खरिद सम्झौता गरी उक्त विदेशी कम्पनीलाई के कसरी कुन माध्यमबाट भुक्तानी गर्नु भयो के यस किसिमको कार्य गर्न प्रचलित नेपाल कानुनले तपाईँलाई अधिकार प्रदान गरेको छ स्पष्ट खुलाउनु हुन ।

ढ- नेपाल क्रिकेट सङ्घ राष्ट्रिय खेलकुद परिष‌द्मा दर्ता आबद्धता भई स्वीकृत विधान बमोजिम परिषद्बाट आवधिक निर्वाचन सम्पन्न गरी परिष‌दद्वारा निर्मित खेल संरचना प्रयोग गरी आफ्‌ना खेल गतिविधिहरू सञ्चालन गर्दै आइरहेको सन्दर्भमा राष्ट्रिय खेलकुद परिषद्‌का अध्यक्ष एवं माननीय युवा तथा खेलकुद मन्त्रीज्यूबाट गठित यस कार्यदलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त उजुरीमा उल्लेखित विषयवस्तुमा स्पष्टता हुनका साथै तहां आयोगमा सत्य तथ्य विवरण पेस गर्नु पर्ने दायित्व रहे भएकै कारणबाट नेपाल क्रिकेट संघलाई पत्राचार गर्दा समेत स्पष्ट जवाफ नदिई केवल झारा टार्ने किसिमबाट जवाफ दिई छानबिन कार्यमा पूर्ण असहयोग किन गर्नु भएको हो तपाईँले औचित्यहीन ढङ्गबाट छानबिन कार्यदलको कार्यमा बाधा व्यवधान खडा गरी कानून विपरीतको कार्य गर्नु भएको होइन स्पष्ट खुलाउनु हुन।

एनपिएलबारे उकेराको श्रृंखला

यो पनि:-

जेठ २८, २०८२ बुधबार १४:०२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।