पञ्चायतको चौथो सिजनको ट्रेलर रिलिज, कहिले र कहाँ हुन्छ प्रसारण?

पञ्चायतको चौथो सिजनको ट्रेलर रिलिज, कहिले र कहाँ हुन्छ प्रसारण?

एजेन्सी : लोकप्रिय तथा बहुप्रतिक्षित वेब सिरिज ‘पञ्चायत सिजन ४’ को ट्रेलर सार्वजनिक भएको छ।

द भाइरल फिभरद्वारा निर्मित यस शोलाई दीपक कुमार मिश्रा र चन्दन कुमारले लेखेका हुन्। चन्दनकै पटकथा रहेको सिरिजको निर्देशनको जिम्मा भने मिश्रासँगै अक्षत विजयवर्गीयले सम्हालेका छन्।

‘फुलेरा’ नामक गाउँमा सेट गरिएको यस सिजनमा साना शहरका कथा, भावना र हास्यका साथै नयाँ चुनौती र रोचक मोडहरू छन्। जितेन्द्र कुमार, नीना गुप्ता, रघुवीर यादव, फैसल मलिक, चन्दन रोय लगायत पुराना कलाकारहरू यसमा फर्किएका छन्।

ट्रेलरले यस पटक फुलेरा गाउँलाई चुनावी रणभूमिमा परिणत भएको देखाउँछ, जहाँ मञ्जु देवी र क्रान्ति देवी आमनेसामने हुनेछन्। र्याली, नारा र राजनीतिको रमाइलो मिश्रण यसमा देख्न सकिन्छ।

करिब ६५ लाख भोटको साथ फ्यानहरूले एक विशेष भोटिङ प्लेटफर्म मार्फत शोको रिलिज मिति अगाडि सार्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। यसअघि जुलाई २ मा रिलिज हुने भनिएको सिरिज अब जुन २४ मै हुनेछ।

निर्माता तथा लेखक चन्दन कुमारले कथालाई सधैँ ताजा राख्ने र पात्रहरूको सम्बन्धलाई गहिराइ दिने प्रयास गरिएको बताए। मञ्जु देवीको भूमिका निर्वाह गर्ने नीना गुप्ताले आफ्नो पात्रको विकास र शोमा आउने अप्रत्याशित मोडहरू रोचक रहेको बताइन्।

सचिव जी बनेका जितेन्द्र कुमारले पञ्चायतले सबै वर्गका दर्शकलाई जोड्ने र नयाँ सिजनले थप रमाइलो र आत्मीयता ल्याउने विश्वास व्यक्त गरे।

पञ्चायत सिजन ४ जुन २४ देखि भारत र विश्वभरका २४० भन्दा बढी देशहरूमा प्राइम भिडियोमा मात्र प्रसारण हुनेछ।

जेठ २८, २०८२ बुधबार १४:०१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।