साँझ छ बजेपछि लस एन्जलसमा कर्फ्यू, उल्लंघनको आरोपमा दर्जनौं प्रदर्शनकारी पक्राउ

साँझ छ बजेपछि लस एन्जलसमा कर्फ्यू, उल्लंघनको आरोपमा दर्जनौं प्रदर्शनकारी पक्राउ

एजेन्सी : अमेरिकाको लस एन्जलसमा ५ दिनदेखि भइरहेको विरोध प्रदर्शनका कारण साँझ ६ बजेपछि कर्फ्यू लगाइएको छ। लस एन्जलसकी मेयर करेन बासले आपतकाल घोषणा गरेकी छन्। ​​​​​​कर्फ्यू उल्लंघन गरेको आरोपमा दर्जनौं मानिसहरूलाई पक्राउ परेका छन्।

न्युयोर्क टाइम्सका अनुसार अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने निर्णयको विरोधमा अमेरिकाका १२ राज्यका २५ शहरहरूमा विरोध प्रदर्शन फैलिएको छ।

सान फ्रान्सिस्को, डलास, अस्टिन, टेक्सास र न्यूयोर्क जस्ता शहरहरूमा पनि विरोध प्रदर्शन भइरहेको छ। स्थिति नियन्त्रण गर्न ट्रम्पले लस एन्जलसमा ४ हजार नेशनल गार्डका साथै ७०० मरीन कमाण्डो तैनाथ गरेका छन्।

परिस्थिति बिग्रँदै गइरहेको बताउँदै ट्रम्पले आवश्यक परेमा पूर्ण शक्तिका साथ यसको सामना गर्ने समेत चेतावनी दिएका छन्। यसैबीच, सोमबार-मंगलबार, लस एन्जलस प्रहरीले ११०० भन्दा बढी प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ।

यसैबीच ट्रम्पले लस एन्जलसमा हिंसा जारी रहे शहरभरी विद्रोह ऐन लागू गर्नसक्ने चेतावनी दिएका छन्। यो कानूनले सरकारलाई हिंसा रोक्न सैन्य बल प्रयोग गर्न अनुमति दिन्छ।

साथै, उनले जुन १४ मा वासिङ्टन डीसीमा आयोजना हुने सेना परेडको समयमा हुने प्रदर्शनविरुद्ध पनि चेतावनी दिएका छन्। जुन १४ अमेरिकी सेनाको २५० औं वार्षिकोत्सव र ट्रम्पको ७९ औं जन्मदिन पनि हो।

उनले भनेका छन्, ‘त्यो दिन कसैले विरोध गर्छ भने उसले सेनाको सामना गर्नुपर्नेछ।’

यस हिंसामा अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ। अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने निर्णयको विरुद्धमा यी हिंसात्मक विरोध प्रदर्शनहरू भइरहेका छन्। ट्रम्पको चेतावनी र चार हजार नेशनल गार्ड परिचालनपछि अहिले लस एन्जलसमा हिंसा रोकिँदै गएको देखिन्छ।

जेठ २८, २०८२ बुधबार १३:०५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।