होटल मार्कोपोलोमा ज्योति विकास बैंकका ग्राहकलाई विशेष छुट

होटल मार्कोपोलोमा ज्योति विकास बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं : ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै काठमाडौंको हात्तिसारस्थित होटल मार्कोपोलोसँग विशेष छुट सम्झौता गरेको छ।

यस सम्झौता अनुसार, ज्योति विकास बैंकका ग्राहकहरूले होटल मार्कोपोलोमा खाना तथा रूम चार्जमा १० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन्।

बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका विभिन्न व्यवसायहरूसँग सहकार्य गरी आकर्षक छुट तथा सुविधा प्रदान गर्दै आइरहेको छ।

यसै क्रममा, हालै बैंकले ललितपुरस्थित बेक्ड एन्ड सर्भ्डमा १२ प्रतिशतसम्म, काठमाडौंस्थित भ्यू ३६० रिसोर्ट र ललितपुरस्थित प्याराडाइज हिल्समा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ।

संस्थागत सुशासन र सामाजिक उत्तरदायित्वलाई महत्व दिँदै आएको यस बैंकले समाजको हितका लागि विभिन्न पहलकदमी लिँदै आएको छ। आफ्नो खुद मुनाफाको ५० प्रतिशत बढी रकम सामाजिक कार्यमा छुट्याएर समाजप्रति थप उत्तरदायी बनेको बैंकले जनाएको छ।

नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षाका लागि बैंकले अघि सारेको पहलअन्तर्गत ६२ वटा 'न्यानो नानी' मार्फत हरेक वर्ष २२९४ भन्दा बढी शिशुको जीवन रक्षामा सहयोग पुगेको बैंकले उल्लेख गरेको छ। जीवन रक्षाको यो महत्वपूर्ण क्षेत्रमा काम गर्ने बैंक तथा वित्तीय संस्थामध्ये ज्योति विकास बैंक अग्रस्थानमा रहेको बैंकको दाबी छ।

राष्ट्र निर्माणमा आफ्नो दायित्व पूरा गर्दै बैंकले गएको आर्थिक वर्षमा करिब रु. ४० करोड र चालु आर्थिक वर्षको पौष मसान्तसम्म करिब रु. १५ करोड राजस्वमा योगदान पुर्याएको छ।

हाल ज्योति विकास बैंकले १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

जेठ २८, २०८२ बुधबार १२:१५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।