चौथो संस्करणको महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम बैंकलाई

चौथो संस्करणको महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम बैंकलाई

काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडको ३१औं वार्षिकोत्सवमा भएको चौथो संस्करणको महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२५ को उपाधि प्राइम बैंकले जितेको छ।

जेठ २१ गते बुधबारदेखि जेठ २४ गते शनिबारसम्म काठमाडौंमा सञ्चालित यस प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाहरू, बीमा कम्पनीहरू, मर्चेन्ट बैंकहरू तथा लघुवित्त वित्तीय संस्थाका गरी कुल २४ टिमको सहभागिता रहेको थियो।

प्रतिस्पर्धात्मक खेलहरूका बीच प्राइम कमर्सियल बैंक लिमिटेडले प्रतियोगिताको उपाधि जित्न सफल भएको छ। नबिल बैंक लिमिटेडले भने द्वितीय स्थान हासिल गरेको छ।

प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण जेठ २६ गते सोमबार सम्पन्न भएको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंकलाई डेपुटी गभर्नर मिश्र र महालक्ष्मी विकास बैंकका अध्यक्ष श्री राजेश उपाध्यायले संयुक्त रूपमा विजेता ट्रफी हस्तान्तरण गरे।

प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरूलाई समेत सम्मान गरिएको थियो। उत्कृष्ट फिल्डरको पुरस्कार नबिल बैंक लिमिटेडका अमृत चौलागाईंले प्राप्त गरे भने उत्कृष्ट विकेट-किपर नबिल बैंक लिमिटेडका विजय पारा लिम्बु घोषित भए।

एनएमबी बैंकका अनिल बर्तौला उत्कृष्ट बलर बने भने आईएफसी फाइनान्सका सुरज तिमिल्सिना उत्कृष्ट ब्याट्सम्यान तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए।

जेठ २८, २०८२ बुधबार १२:०८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।