तीनकुने घटनाकी घाइते रेविकालाई पोर्तुगलबाट प्राप्त आठ लाख सहयोग हस्तान्तरण

तीनकुने घटनाकी घाइते रेविकालाई पोर्तुगलबाट प्राप्त आठ लाख सहयोग हस्तान्तरण

काठमाडौं : गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनपछि प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्तुगलमा रहेका नेपालीहरूबाट संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ।

संयुक्त जनआन्दोलन समितिले आठ लाख उन्चालीस हजार चार सय रूपैयाँको उक्त रकम बुधबार महाराजगंजस्थित शिक्षण अस्पतालमा उपचाररत खत्रीलाई हस्तान्तरण गरेको हो।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, निर्देशक समितिका सदस्यहरू डा. प्रकाश चन्द्र लोहनी र हरिबहादुर बस्नेतको टोलीले अस्पताल पुगी खत्रीलाई सहयोग रकम हस्तान्तरण गरेका थिए।

यो रकम रमेश राज वास्तोलाको संयोजनमा पोर्तुगलको लिजवनमा बसोबास गर्ने नेपालीहरूबाट उनको शीघ्र स्वास्थ्य लाभको कामनासहित संकलन गरिएको समितिले जनाएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता सगुन सुन्दर लावती, जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, राप्रपाका केन्द्रीय सदस्य धनसुर शाही लगायतको उपस्थिति रहेको थियो।

घाइते खत्रीको शिक्षण अस्पतालमा उपचार जारी छ।

जेठ २८, २०८२ बुधबार ११:२७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।