विश्वकप क्रिकेट लिग-२ : स्कटल्यान्डमा नेपालको शानदार प्रदर्शन, ‘थ्रिलर सिनेमा’ भन्दा कम थिएनन् चारै खेल

विश्वकप क्रिकेट लिग-२ : स्कटल्यान्डमा नेपालको शानदार प्रदर्शन, ‘थ्रिलर सिनेमा’ भन्दा कम थिएनन् चारै खेल

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डमा सम्पन्न त्रिकोणात्मक सिरिज नेपाली टोलीका लागि निकै उत्साहजनक रह्यो। घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित यस सिरिजमा नेपालले खेलेका चारमध्ये तीन खेलमा शानदार जित हासिल गर्यो।

सिरिजको पहिलो, दोस्रो र अन्तिम (चौथो) खेल जितेको नेपाल तेस्रो खेलमा घरेलु टोली स्कटल्यान्डसँग जित नजिक पुगेर पनि मात्र तीन रनले पराजित भयो। क्रिकेट विश्लेषकहरूले यी चारै खेललाई कुनै ‘थ्रिलर’ सिनेमाभन्दा कम नभएको  समेत भनेका छन्। अन्तिम बल र अन्तिम विकेट नखसेसम्म कसले जित्छ भन्ने अनुमान लगाउन नसकिने खालका थिए यी खेलहरू।

यसअघिका दुई सिरिज (अमेरिका र क्यानडामा) मा निराशाजनक प्रदर्शन गरेको नेपाली टोलीबाट खासै ठूलो आशा गरिएको थिएन। अमेरिकामा स्कटल्यान्ड सम्मिलित सिरिजमा चारमध्ये दुई हार, एक जित र एक खेल रद्द भएको थियो भने त्यसअघि क्यानडामा ओमान सम्मिलित सिरिजमा नेपाल लगातार तीन खेलमा पराजित भएको थियो र एक खेल वर्षाले रद्द हुँदा अंक पाएको थियो।

पछिल्ला बिर्सनलायक दुई सिरिजपछि स्कटल्यान्डमा हासिल गरेको यो प्रदर्शन नेपाली क्रिकेटका लागि ठूलो सफलता मानिएको छ। विशेषगरी, स्कटल्यान्डसँगको तेस्रो खेलमा ३२४ रनको विशाल लक्ष्य पछ्याउँदै ३२१ रनसम्म पुग्नुले टोलीको ब्याटिङ क्षमतामा आएको सुधार देखिन्छ। यस सिरिजले ‘नेपाली टोलीले अरुको देशमा वा नेपालभन्दा फरक कन्डिसनमा जित निकाल्न सक्दैन’ भन्ने आलोचनालाई समेत उचित जवाफ दिएको छ।

पहिलो खेल : स्कटल्यान्डविरुद्ध २९६ रनको कीर्तिमानी चेज
चिसो मौसमका बीच डन्डी क्रिकेट मैदानमा त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डको सामना गर्यो। टस जितेर पहिला बलिङ रोजेको नेपालले स्कटल्यान्डलाई २९६ रनमा रोक्न सफल भएन।

कप्तान रोहित पौडेलले स्कटल्यान्डलाई सस्तैमा समेटेर सहज जित निकाल्ने योजना बनाए पनि घरेलु टोलीले राम्रो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा २९६ रनको विशाल योगफल तयार पार्यो।

यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा अहिलेसम्म पछ्याउन नसकेको सबैभन्दा ठूलो लक्ष्य थियो। यसअघि नेपालले क्यानडा र नामिबियाविरुद्ध सबैभन्दा बढी २८७ रनको लक्ष्य पछ्याएको थियो।

२९७ रनको कठिन लक्ष्य पछ्याउने क्रममा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुवात दिलाउँदै ७२ रनको साझेदारी गरे। उनीहरू आउट भएपछि भीम सार्की र कप्तान रोहित पौडेलले पनि ७४ रनको महत्वपूर्ण साझेदारी गरे।

तल्लो क्रममा आएका करण केसी र गुल्सन झाले आठौं विकेटका लागि मात्र ४४ बलमा ६० रनको द्रुत साझेदारी गर्दै खेललाई रोमाञ्चक मोडमा पुर्याए। त्यसपछि सन्दीप लामिछानेसँग करण केसीले २१ बलमा ३८ रनको अविश्वसनीय साझेदारी गरे। करणले १५ बलमा ३३ रन बनाए।

अन्तिम बल र अन्तिम विकेट बाँकी छँदै नेपालले ऐतिहासिक लक्ष्य सफलतापूर्वक पछ्याउँदै खेल जित्यो। यो जित नेपालको ओडीआई इतिहासकै सबैभन्दा ठूलो रन चेज गर्यो।

दोस्रो खेल : नेदरल्यान्ड्सविरुद्ध सजिलो लक्ष्य तर पछ्याउन हम्मेहम्मे
डन्डी मैदानमै भएको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्यो। तीव्र हावा चलेको दिन नेदरल्यान्ड्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्यो।

नेपाली बलर सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेको धारिलो बलिङसामु नेदरल्यान्ड्स ४९.१ ओभरमा २२५ रनमा अलआउट भयो। उसका नोच क्रोसले सर्वाधिक ४८ रन बनाउँदा कप्तान स्कट एडवार्डले ४६ रन जोडे।

२२६ रनको लक्ष्य पछ्याउन उत्रिएको नेपाली टोलीले पहिलो पावर प्लेमै आशिफ शेखलाई २५ रनमा गुमायो। त्यसपछि कुशल भुर्तेल (२५), भीम सार्की (११) र कप्तान रोहित पौडेल (२३) लाई केही समयको अन्तरालमा गुमाउँदै नेपालले दबाब महसुस गर्यो।

तर, आरिफ शेखले धैर्यपूर्वक ब्याटिङ गर्दै ७८ रनको महत्वपूर्ण पारी खेले। उनलाई साथ दिन आएका दीपेन्द्रसिंह ऐरी ३८ रनमा नटआउट रहेर खेल जिताउन मुख्य भूमिका खेले। अन्तिममा गुल्सन झाले चार बलमा ११ रन जोड्दै ४७.१ ओभरमै नेपाललाई जित दिलाए।

तेस्रो खेल : स्कटल्यान्डविरुद्ध दुई रनको हार, तर कीर्तिमान
८ जुनमा स्कटल्यान्डको डन्डीमा टस हारेर पहिला ब्याटिङ रोजेको घरेलु टोली स्कटल्यान्डले नेपालविरुद्ध ३२३ रनको विशाल योगफल बनायो।

सुरुवाती दुई विकेट चाँडै गुमे पनि चार्ली टियर र रिचि बेरिङ्घटनले ९४ रनको साझेदारी गर्दै पारी सम्हाले। मध्यक्रममा पनि स्कटल्यान्डका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेपछि नेपालले ठूलो लक्ष्य पायो।

३२४ रनको लक्ष्य पछ्याउन उत्रिएको नेपालको ब्याटिङ सुरुवातमा धराशायी बन्यो। कुशल भुर्तेल, आशिफ शेख र कप्तान रोहित पौडेल सुरुमै आउट भएपछि समर्थकले आश मारिसकेका थिए।

तर, चौथो विकेटका लागि आरिफ शेख र भीम सार्कीले ९४ रनको महत्वपूर्ण साझेदारी गर्दै पारी सम्हाले। त्यसपछि दीपेन्द्रसिंह ऐरीले पारीलाई अघि बढाए। विशेषगरी, सातौं विकेटका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले मात्र ६५ बलमा १०५ रनको अविश्वसनीय कीर्तिमानी साझेदारी गर्दै खेललाई नेपालको पक्षमा फर्काए। 

दीपेन्द्र ३८ रनमा आउट हुँदा नेपाललाई जितका लागि २१ बलमा ३६ रन चाहिएको थियो। आठौं विकेटका लागि करण केसी र सोमपालले नौ बलमा २० रनको द्रुत साझेदारी गर्दै स्कोर ३०८ रन पुर्याए।

अब १२ बलमा मात्र १६ रन चाहिएको थियो। तर, अन्तिम समयमा सम्हालिन नसक्दा नेपाली टोली एक विकेट बाँकी रहँदै जितबाट मात्र तीन रन टाढा ३२१ रनमा समेटियो र रोमाञ्चक खेलमा पराजित भयो।

यद्यपि, यो खेलमा नेपालले ओडीआईमा आफ्नो अहिलेसम्मकै उच्च स्कोर (३२१) बनायो भने सोमपाल र दीपेन्द्रको १०५ रनको साझेदारी सातौं विकेटका लागि नेपालको कीर्तिमान बन्यो।

चौथो खेल : १० रन पेनाल्टी, पहिलो पटक डिफेन्ड गर्दै जित
त्रिकोणात्मक सिरिजको नेपालका लागि अन्तिम खेल पनि त्यस्तै थ्रिलिङ बन्न पुग्यो। यस सिरिजमा नेपालले पहिलो पटक पहिला ब्याटिङ गर्नुपर्यो। पहिला ब्याटिङ गर्दा पिच र परिस्थितिबारे कम अनुमान हुने भएकाले सम्हालिएर खेल्नुपर्ने चुनौती थियो।

नेपाली टोलीको सुरुवात राम्रो हुन सकेन। ओपनर कुशल भुर्तेल (१८) र अनिल शाह (२) सस्तैमा आउट भए। त्यसपछि भीम सार्की र कप्तान रोहित पौडेलबीच ५९ रनको साझेदारी भयो। आरिफ शेखले ८५ बलमा ८४ रनको धैर्यपूर्ण पारी खेल्दै नेपालको स्कोर उकासे।

तर, बसीर अहमदले पिचको संवेदनशील भागमा हिँडेपछि नेपालले १० रन पेनाल्टी स्वरूप गुमाउनुपर्यो। यसरी नेपालले कुल २३६ रन बनायो र नेदरल्यान्ड्सले २३७ रनको लक्ष्य पायो, जसमा कुनै बल सामना नगरी पाएको १० रन पनि समावेश थियो।

जवाफी लक्ष्य पछ्याउन उत्रिएको नेदरल्यान्ड्सलाई रोक्न नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। विशेषगरी, डेब्यु खेलिरहेका युवा बलर नन्दन यादवले प्रभावशाली बलिङ गर्दै तीन विकेट लिए।

सन्दीप लामिछानेले पनि तीन विकेट लिँदै महत्वपूर्ण योगदान दिए। ललित राजवंशीले दुई तथा कुशल भुर्तेल र करण केसीले एक-एक विकेट लिएपछि नेदरल्यान्ड्स लक्ष्यसम्म पुग्न सकेन। नेपाली बलरहरूको कसिलो बलिङ र फिल्डिङका कारण नेदरल्यान्ड्सलाई रोक्दै नेपालले सिरिजको अन्तिम खेल पनि जित्न सफल भयो।

०००

समग्रमा, स्कटल्यान्डमा भएको यो सिरिज नेपाली क्रिकेटका लागि निकै सकारात्मक रह्यो। खराब लयबाट गुज्रिरहेको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप लिग २ मा आफ्नो स्थिति सुधार गर्ने र समर्थकमा पुनः विश्वास जगाउने काम गरेको छ।

अंक तालिका हेर्ने हो भने नेपाली टोलीले १६ खेलमा पाँच जित, नौ हार र दुई खेल रद्द भएसँगै १२ अंक जोडेको छ। तालिकामा नेपाल सातौं स्थानमा छ। अमेरिका, नेदरल्यान्ड्स र स्कटल्यान्ड क्रमश: २८, २६ र २५ सहित  पहिलो, दोस्रो र तेस्रो स्थानमा छ। ओमान, क्यानडा र नामिबिया क्रमश: २४, २०, १४ अंकसहित चौथो, पाचौं र छैटौं स्थानमा छ।

जेठ २८, २०८२ बुधबार ११:०९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।