लस एन्जलस आन्दोलनमा हिंसा नियन्त्रणमा नआए ‘विद्रोह कानून’ लागू गर्ने ट्रम्पको चेतावनी

एजेन्सी : अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा विगत पाँच दिनदेखि जारी रहेको हिंसात्मक प्रदर्शनका क्रममा कम्तीमा दुई जनाको मृत्यु भइसकेको छ। अवैध आप्रवासीलाई निष्कासन गर्ने सरकारी निर्णयको विरोधमा यो प्रदर्शन भइरहेको हो।
यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसा नियन्त्रणमा नआए विद्रोह ऐन लागू गरी सेना परिचालन गर्न सक्ने चेतावनी दिएका छन्। १८०७ मा लागू भएको यो ऐनले राष्ट्रपतिलाई आन्तरिक अशान्ति वा विद्रोह नियन्त्रण गर्न सेना प्रयोग गर्ने अधिकार दिन्छ।
यो ऐन यसअघि अन्तिम पटक सन् १९९२ मा लस एन्जलसमै भएको दंगाका बेला क्यालिफोर्नियाका गभर्नरको अनुरोधमा प्रयोग गरिएको थियो।
ट्रम्पले पछिल्ला केही दिनदेखि अवस्था बिग्रँदै गएको भन्दै विद्रोह भएमा आफूले अवश्य पनि उक्त ऐन प्रयोग गर्ने बताएका छन्। यद्यपि, लस एन्जलसमा यसअघि नै ७०० मरीन कमाण्डो र ४००० राष्ट्रिय गार्डहरू तैनाथ गरिसकिएको छ।
प्रदर्शनका क्रममा दंगाकारीहरूले सयौं सवारी साधनमा आगजनी गरेका छन्। धेरै प्रदर्शनकारीले अमेरिकी झण्डामा थुकेको पनि देखिएको छ।
सुरक्षा क्यामेराबाट बच्न प्रदर्शनकारीहरू मास्क लगाएर सडकमा निस्किएको पाइएको छ। राष्ट्रपति ट्रम्पले मास्क लगाएका प्रदर्शनकारीलाई तुरुन्तै पक्राउ गर्न आदेश दिएका छन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत सहरलाई अवैध आप्रवासीहरूले कब्जा गरेको र यसलाई छिट्टै मुक्त गरिने बताएका छन्।
यसैबीच, राष्ट्रपति ट्रम्पले जुन १४ मा वाशिङ्टन डीसीमा आयोजना हुने सेना परेडका क्रममा सम्भावित प्रदर्शनहरूबारे पनि चेतावनी दिएका छन्। उनले यदि कोही विरोधमा उत्रिएमा ‘धेरै भारी बल’को सामना गर्नुपर्ने बताए।
जुन १४ अमेरिकी सेनाको २५० औं वार्षिकोत्सव र ट्रम्पको ७९ औं जन्मदिन पनि हो।
जेठ २८, २०८२ बुधबार ०८:२०:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।