अस्ट्रियाको विद्यालयमा भएको गोलीकाण्डमा ११ जनाको मृत्यु

अस्ट्रियाको विद्यालयमा भएको गोलीकाण्डमा ११ जनाको मृत्यु

अस्ट्रिया : अस्ट्रियाको ग्राजस्थित एक माध्यमिक विद्यालयमा मंगलबार भएको गोलीकाण्डमा १० जना विद्यार्थी तथा कर्मचारीको मृत्यु भएको छ। 

आक्रमणकारीले आत्महत्या गरेपछि ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ।यस गोलीकाण्डलाई देशको अहिलेसम्मकै सबैभन्दा ठूलो घटना मानिएको छ।

यस दु:खद् घटनाप्रति शोक व्यक्त गर्दै अस्ट्रिया सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ। पीडितहरूको सम्मानमा बुधबार स्थानीय समय अनुसार बिहान १० बजे देशभर एक मिनेट मौनधारण गरिने कार्यक्रम छ।

प्रहरीका अनुसार, आक्रमणकारी सोही विद्यालयका २१ वर्षीय पूर्व विद्यार्थी थिए। उसले गोली चलाउन पेस्तोल र बन्दुक प्रयोग गरेको थियो।

गृहमन्त्री गेरहार्ड कर्नरका अनुसार, यस घटनामा अन्य १२ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ। आक्रमणमा ज्यान गुमाउनेमा छ महिला र तीन पुरुष रहेको प्रारम्भिक जानकारी दिइएको छ।

शिक्षामन्त्री क्रिस्टोफ विडरकेहरले अर्को सूचना जारी नभएसम्मका लागि आक्रमण भएको विद्यालय बन्द रहने जानकारी दिएका छन्।

जेठ २८, २०८२ बुधबार ०७:३५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।