प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै, ‘भिजिट भिसा’ प्रकरणले अवरोध कायमै

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै, ‘भिजिट भिसा’ प्रकरणले अवरोध कायमै

काठमाडौं : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन्।

जेठ १३ गतेदेखि लगातार अवरुद्ध हुँदै आएको बैठकलाई सुचारु गर्न दलहरूबीच पटकपटक छलफल भए पनि सहमति जुट्न सकेको छैन।

संसद् सचिवालयले जनाएअनुसार, आजको सम्भावित कार्यसूचीमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र त्यसमाथि छलफल हुने उल्लेख छ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची पनि छ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरूबारे जानकारी गराउने कार्यसूची पनि राखिएको छ।

प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण पछिल्ला दिनहरूमा संसद्को बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।

जेठ २८, २०८२ बुधबार ०७:१४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।