एनपिएल अनियमितताको छानबिनमा पारस खड्काको लिखित जवाफ, प्रमाणको साटो कुतर्क र छलछाम

काठमाडौँ : नेपाल प्रिमियर लिगको आयोजनाकोक्रममा विदेशी कम्पनी टिसिएमसँग आर्थिक कारोबारबारे राष्ट्रिय खेलकुद परिषद्को छानबिन कार्यदलले सोधेको प्रश्नको उत्तरै नदिई नेपाल क्रिकेट संघले भावनात्मक जवाफ दिएको छ।
विना प्रतिस्पर्धा कसरी टिसिएमलाई चयन गरेको, ठेक्काको प्रक्रियामा किन नगएको, नेपालको सार्वजनिक खरिद सम्बन्धी कानुन किन पालना नगरेको अनि नेपालमै कम्पनी दर्ता हुँदाहुँदै टिसिएम दुबइको नाममा भुक्तानी गरेर विदेशी मुद्दा अपचलन गरेकोबारे राखेपले एनपिएलबारे छानबिन गर्न गठन गरेको कार्यदलले १० प्रश्न सोधेको थियो।
कार्यदलले जेठ १४ मा १० प्रश्नसहित क्यानसँग २४ घण्टाको जवाफ मागेको थियो। एनपिएल आयोजक समितिका प्रमुख तथा क्यानका सचिव पारस खड्काले कार्यदलमा पठाएको जवाफमा समितिले उठाएको गम्भीर प्रश्नको उत्तर र विवरणहरू छैनन्। केवल ‘एनपिएलले नेपाली खेल क्षेत्रमा चमत्कार गरेको’ जस्ता अमूर्त जवाफ मात्र समावेश छ।
क्यानले पठाएको जवाफ चित्तबुझ्दो नभएपछि पुन क्यानलाई पत्र पठाएको छानबिन कार्यदलको संयोजक रञ्जना प्रधानले उकेरालाई जानकारी दिइन्।
‘उहाँहरूले प्रश्नको छोटो जवाफ पठाउनु भएको छ। तर हामीलाई चित्त नबुझेपछि २-३ वटा प्रश्न थप गरेर पठाएको छौँ,’ उनले उकेरासँग भनिन्।
उकेराले एनपिएल प्रारम्भ भएदेखि नै यसको पारदर्शिता, टिसिएम र ब्रान्ड लजिकसँगको शङ्कास्पद आर्थिक सम्बन्ध, लिगको आवरणमा क्रिकेट मैदानलाई अनलाइन जुवा खेलाउने कम्पनीको प्रचारमा सरोगेट विज्ञापनको प्रयोग र नेपालको कानुन विपरीत भएका कारोबारहरूबारे शृङ्खलाबद्ध समाचार प्रकाशित गरिरहेको छ।
उकेराको निरन्तर खुलासापछि प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालयहुँदै नेपाल विज्ञापन बोर्डले समेत क्यानसँग निरन्तर गैर कानुनी गतिविधि र अपारदर्शी कारोबारबारे पत्राचार गरिरहेको थियो। अधिकांश पत्रको अवज्ञा गरिरहेको क्यान नेतृत्वले राखेपले गठन गरेको कार्यदललाई अवज्ञा गर्न सकेन।
किनकि सो कार्यदल राखेपको इच्छा अनुसार गठन नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको आधारमा अख्तियारमा खेलकुद मन्त्रालयहुँदै छानबिनका लागि मन्त्रालयबाट राखेपमा निर्देशन गएपछि गठन भएको थियो।
राखेपको कानुन विभाग प्रमुख नारायणराज अर्यालले क्यानले पठाएको पत्र अनुसार उसले अनुसन्धानको लागि सहयोग नगरेको बताए। ‘क्यानले राखेपको छानबिनलाई असहयोग गर्यो’ उनले भने।
क्यानलाई राखेप कार्यदलले सोधेको प्रश्न
राखेपले गठन गरेको छानबिन कार्यदलले क्यानलाई प्रत्यक्ष प्रसारणको अधिकार, विदेशी विज्ञापन, लिग व्यवस्थापनको जिम्मा पाएको कम्पनीलाई गरिएको भुक्तानी, अनलाइन जुवाको प्रवर्धन लगायतका बदमासीबारे केन्द्रित भएर प्रश्नहरू सोधेको थियो।
कार्यदलले पठाएको दुई पन्ने पत्रमा प्रस्ट लिग गर्दाको निर्णयको सक्कलै प्रतिलिपि, एनपिएल समितिको निर्णय, विदेशी कम्पनी छान्दा बोलपत्रको आव्हान गर्दा रकमको मापदण्ड, आधार र प्रक्रियाको सकल कागजात, स्टार स्पोर्ट्ससँग सम्झौता गर्दा अपनाएको कानुनी आधार र सो सम्बन्धी सम्झौता पत्रको सक्कल, टिसिएम कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भई कायम रही रहेको अवस्थामा युएई, दुबईमा दर्ता भएको सोही कम्पनीको नामबाट किन सेवा खरिद गरेको भनेर सोधेको थियो।
पत्रमा टिसिएम स्पोर्टस् म्यानेजमेन्टलाई प्रोडक्सन, बोडकास्ट राइट सेवा खरिदको सम्झौता गरे बापतको आम्दानी कर छली गरी विदेशी मुद्रा दुरुपयोग आर्थिक अनियमितता गरेको, कम्पनीलाई एकलौटी ढङ्गबाट प्रसारण गर्ने अनुमति प्रदान गर्दा कति रकम सम्झौता गरेको सहितको विवरणहरू मागेको थियो।
प्रमाणको साटो कुतर्क र छलछाम
गम्भीर आर्थिक अपचलनबारे छानबिन गरिरहेको कार्यदलले सोधेको प्रश्नमा क्यानले भने आलेटाले र भावनात्मक जवाफ दिएर बदमासी ढाकछोपको प्रयास गरेको छ। क्यानको जवाफले एनपिएलमा बदमासी भएको र क्यान पदाधिकारी त्यसलाई लुकाउने प्रयत्नमा रहेको थप पुष्टि गर्छ।
क्यानले राखेपलाई पठाएको पत्रमा क्यानले टिसिएम नामक कम्पनीसँग कुनै सम्झौता नै नगरेको दाबी गरेको छ। सम्झौता नगरेको भए केको आधारमा उसलाई एनपिएल व्यवस्थापनको जिम्मेवारी दिएको, केको आधारमा उसको दुबईमा रहेको कार्यालयबाट क्यानको नाममा बिल आएको केही खुलाइएको छैन।
क्यानले छानबिन कार्यदलमा पठाएको जवाफमा भनिएको छ, ‘नेपाल क्रिकेट संघले युएई, दुबईमा दर्ता भएको टिसिएम नामक कम्पनीसँग कुनै पनि सेवा खरिद नगरेको ब्यहोरा जानकारी गराइन्छ। साथै, प्रश्न (ज) मा सोधिएको विषय स्पष्ट पार्दै, टिसिएम स्पोर्ट्स म्यानेजमेन्ट एलएलसी दुबईलाई प्रोडक्सन, बोर्डकास्ट राइट कर छली र विदेशी रकम दुरुपयोग गरेको कुरा कपोलकल्पित भएको र टिसिएमसँग प्रसारण सम्बन्धी सम्झौता नगरेको’ उल्लेख छ।
एकै विषयमा क्यान सचिव खड्काले फरक फरक दाबी गर्ने गरेका छन्। यसले समेत एनपिएल आयोजनामा भएका गतिविधिलाई थप शङ्कास्पद बनाएको छ।
मंगलबार उकालोमा प्रकाशित खड्काको अन्तर्वार्तामा टिसिएमसँगको सम्बन्धबारे सोधिएको प्रश्नमा उनको जवाफ लेखिएको छ ‘टीसीएम विदेशी कम्पनी भए पनि उसले नेपालमा आफ्नै कम्पनी दर्ता गरेको छ। बोर्डमा यो कम्पनीबारे कुरा हुँदा सबैले सहमति जनाए। तैपनि टेन्डर खुलायौँ, तर टीसीएमबाहेक कोही आएन। यो कम्पनीलाई पैसा तिरेर ल्याइएको होइन, भोलिन्टियर्ली सहयोगमा आएको हो।’
क्यानको एनपिएल आयोजक समिति र टिसिएमबीच आर्थिक कारोबार भएकोमा कुनै सन्देह छैन। तर गैर कानुनी कारोबारबाट जोगिन अब खड्काले ‘क्यान र टीसीएमबीच कुनै कारोबार नभएको तर्क गर्दै आर्थिक कारोबारको कारण ‘उनीहरूको काम गर्ने मान्छेलाई हामीले खाने–बस्ने व्यवस्था मिलाइदिएका थियौँ। केही पारिश्रमिक दियौँ, यस्तै २५–३० लाख’ भन्न थालेका छन्।
टिसिएमसँग कुनै आर्थिक कारोबार नभएको दाबी गरेका खड्काले उकालोकै अन्तर्वार्तामा एनपिएल लाइभ गरेको स्टार स्पोर्टलाई भने उही टिसिएममार्फतै ल्याएको दाबी गरेका छन्।
एनपिएलको लाइभ स्टार स्पोर्टसमा हुने र यसका लागि क्यानले पाँच करोड भुक्तानी गर्ने औपचारिक रूपमै भनेका पारस अब प्रसारणको अधिकार ब्रान्ड लजिकसँग भए पनि त्यसलाई नेपाल ल्याउन टिसिएमले संयोजन गरेको तर क्यानले त्यसको भुक्तानी भने ब्रान्ड लजिकलाई गरेको र ब्रान्ड लजिकले टिसिएमलाई भुक्तानी गरेको दाबी गरेका छन्। पाँच करोडमा लाइभ स्टारस्पोर्टलाई दिएको दाबी गरेका पारस अब रकम साढे २ करोड भन्न थालेका छन्।
भावनाको खेल
जेठ २१ गते राखेपको कार्यदललाई पठाएको क्यानको पारस खड्काको हस्ताक्षर रहेको पत्रमा सोधिएको प्रश्नको उत्तरको साटो भावनाको खेल खेलिएको प्रस्ट देखिन्छ।
पत्रमा नेपाल प्रिमियर लिग (एनपियल) ले नेपाली क्रिकेट तथा समग्र खेलकुदलाई व्यावसायिक तहमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको, प्रतियोगिताले घरेलु खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाउनुको साथै विदेशमा रहेका प्रतिभाशाली नेपाली खेलाडीहरूलाई पुनः स्वदेश फर्कन प्रेरित गरेको दाबी गरिएको छ।
लिगले मुलुकको गौरव बढाउने, विविध क्षेत्र, जाति, भाषा र समुदायलाई एउटै मञ्चमा उभ्याउने, दर्शकहरूमा देशप्रतिको गर्व बढेको, नेपाली झन्डाको मुनि बसेर नाम चलेका विदेशी खेलाडीहरूसँग प्रतिस्पर्धा गर्नु स्वयं गौरवको विषय भएको तर्क गरिएको छ।
‘आफ्नै माटोमा जन्मेको नेपाल प्रिमियर लिगले नेपालको राष्ट्रिय गौरव र राष्ट्रिय एकतामा योगदान दिने दुई मतको विषय रहेन’ जवाफ पत्रमा दाबी गरिएको छ।
लिगले रोजगारीको अवसर बढाएर देशभित्रै सम्भावना देखाएको, कयौँ युवाहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिएको, टिम व्यवस्थापन, ग्राउन्ड स्टाफ, मिडिया, मार्केटिङ, सुरक्षाकर्मी लगायतका क्षेत्रमा मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव छोड्न सफल भएको पत्रमा तर्क छ।
आर्थिक पारदर्शिताबारे प्रमाण र विवरण पेस गर्नुको साटो जवाफमा ‘व्यावसायिक र आर्थिक दृष्टिले, एनपिएलले स्थानीय व्यवसायहरूलाई चलायमान बनाएको, निजी लगानीकर्तालाई खेल क्षेत्रमा आकर्षित गरी दीर्घकालीन रूपमा लगानी गर्ने वातावरण तयार पारेको’ दाबी छ।
पारदर्शिताबारे छानबिन सुरु भएकोमा पत्रमा क्यानले ‘दुर्भाग्यवश, केही सीमित व्यक्तिहरूले व्यक्तिगत स्वार्थका लागि यस महत्त्वपूर्ण राष्ट्रनिर्माण अभियानलाई बदनाम गर्ने प्रयास भइरहेको महसुस भएको र तथ्यको अपव्याख्या गरी दुष्प्रचार गर्ने गतिविधिहरू नियोजित र पूर्वाग्रही रहेको दाबी गरिएको छ।
लिग केवल एउटा क्रिकेट प्रतियोगिता मात्र नभई, यो प्रतियोगिता नेपाली खेलकुद क्षेत्रको व्यावसायिक भविष्य, राष्ट्रिय गौरव, सामाजिक सद्भाव, युवा सशक्तीकरण र आर्थिक पुनरुत्थानको एक प्रमुख आधार बन्न सक्ने प्रबल सम्भावना बोकेको तर्क गर्दै छानबिन कार्यदललाई क्यानले लिगको पहिलो संस्करण राज्य, निजी क्षेत्र र आम जनसमुदायलाई एकीकृत गर्दै अगाडि बढिरहेको सशक्त उदाहरण रहेको तर्क गरेको छ।
टेन्डरबारे गोलमटोल जवाफ
टेन्डरको विषयमा पत्रमा प्रस्ट उल्लेख छैन २०२४ सेप्टेम्बर ११ मा टेन्डरको सूचना प्रकाशित गरिएको र सूचना प्रकाशनका लागि तय गरिएको मापदण्डका सम्बन्धमा लिगका लागि नियुक्त गरिएको इन्डियन प्रिमियर लिग (IPL) को फ्रेञ्चाइज राजस्थान रोयल्ससंग काम गरिसकेका क्रिकेट विज्ञ परामर्शदाताले पेस गरेको अनुमानित बजेटलाई स्वीकृत गरी उक्त बजेटले प्रक्षेपण गरेको प्रायोजन तथा मिडिया अधिकारबाट प्राप्त हुने आम्दानीबाट बढोत्तरी हुने गरी न्यूनतम बोली रकम रुपैयाँ पाँच करोड तय गरिएको दाबी गरिएको छ।
राजस्थान रोयल्ससंग काम गरिसकेका क्रिकेट विज्ञ परामर्शदाता भनेको को हो भन्ने पत्रमा खुलाइएको छैन।
लिगको तयारी समितिले प्रतियोगिताको लागि नियुक्त गरेको परामर्शदाताले पेस गरेको रिक्वेस्ट फर बिड डकुमेन्ट मार्फत राष्ट्रिय दैनिक पत्रिका तथा नेपाल क्रिकेट संघको आधिकारिक वेबसाइटमा सूचना प्रकाशन गरी माग गर्ने निर्णय गरिएको दाबी गरिएको छ।
नेपाल क्रिकेट संघले सार्वजनिक सूचना प्रकाशन गरी माग गरिए बमोजिमको मापदण्ड पुरा गरी कमर्सियल पार्टनरको रूपमा छनौट भएको र कमर्सियल पार्टनरको अधिकार क्षेत्र भित्र रहेको प्रसारण अधिकारका लागि सोही कम्पनीले स्टार स्पोर्ट्ससंग प्रत्यक्ष प्रसारणका लागि सम्झौता गरेको पत्रमा तर्क गरिएको छ। कमर्सियल पाट्नरको रूपमा ब्रान्ड लजिक छानिएको थियो। यो पनि प्रारम्भदेखि नै शंकामा छ।
क्रिकेट संघले उक्त कम्पनीलाई सहजीकरण मात्र गरिदिएको खड्काको दाबी छ। स्टार स्पोर्टससँग सम्झौता गर्दाको कानुनी आधारबारे सोधिएको प्रश्नमा पनि तर्क र प्रमाण भन्दा भावनात्मक जवाफ दिँदै पत्रमा ‘स्टार स्पोर्टसमा खेलको प्रसारण गर्नुको प्रमुख उद्देश्य खेलको अन्तर्राष्ट्रिय पहुँच र ब्रान्ड भ्यालु बढाउनु रहेको र विश्व बजारमा प्रवेश गरेर खेलको प्रचारप्रसार गर्नु र यस लिगको स्तरलाई विश्वस्तरीय बनाउनु क्यानको रणनीतिक कदम रहेको’ दाबी गरिएको छ।
लिगमा विज्ञापन बोर्डको अनुमति नलिई विदेशी विज्ञापन राखेको प्रश्नको जवाफमा स्टार स्पोर्ट्स च्यानल नेपालमा समेत प्रसारण भएता पनि यसमा कुनै विदेशी विज्ञापन प्रसारण नभएको, स्टार स्पोर्ट्सजस्तो आइसिसी, एसीसी तथा विश्व प्रख्यात खेलकुदका प्रतियोगिताहरू प्रसारण गर्न सफल च्यानलमा नेपाल प्रिमियर लिगको प्रसारण हुनु खेलको दीर्घकालीन हितमा रहेको तर्क गरिएको छ। यसमा पनि कुनै प्रमाण पेस गरिएको छैन।
क्यानले नेपाल प्रिमियर लिगको आयोजना गर्न क्यानका सचिव पारस खड्काको संयोजकत्वमा एनपिएल परिचालन परिषद् गठन गरेको थियो। क्यानका कोषाध्यक्ष र एक सदस्य रहेको सो परिषद्ले अहिलेसम्म पनि एनपिएल आयोजनाको आम्दानी र खर्च विवरण सार्वजनिक गरेको छैन।
छानबिन प्रमुखको जवाफ ‘घोटाला त अलिअलि मह काढेपछि...'
एनपिएलमा अनियमितता भएको भन्दै उजुरी परेपछि खेलकुद मन्त्रालय हुँदै राखेप आएको पत्रले राखेपले एनपिएलको विषयमा छानबिन समिति गठन गरेको थियो।
तर छानबिन समिति प्रमुख रञ्जना प्रधानले उकेरासँग गैरजिम्मेवार जवाफ दिइन्। उकेराकर्मीले छानबिनको काम कहाँ पुग्यो भन्ने प्रश्नमा उनले ‘मह काट्नेले हात चाट्छ र यो विषय त्यति गम्भीर नरहेको’ जवाफ दिएर छानबिनको निष्पक्षतामाथि नै प्रश्न उठ्ने अवस्थाको निर्माण गरिन्।
‘अब के-के घोटाला भएको छ भन्ने कुरा आएको छ नि त, विदेशीलाई पैसा हाल्यो भन्ने कुरा आएको छ। मैले चाहिँ जे भए पनि राष्ट्रिय खेलाडी हो। घोटाला त अलिअलि…मह काटेपछि त हात चाटी हाल्छ नि। त्यस्तो कुरालाई इस्यु लिनु हुँदैन। राष्ट्रको गौरव हो’ उनले उकेरासँग भनिन्।
उनले एनपिएल भनेको राष्ट्रको गौरवको कार्यक्रम भएको, एनपिएलले नै खेलाडीहरू जन्मिएको भन्दै घोटाला भयो, खायो भनेर मुद्दा हाल्ने जस्तो आफूलाई नलागेन र यसलाई पजेटिभ नै मिलाएर लानु पर्ने बताइन्।
प्रधान यस्तो प्रकृतीको अनुसन्धानको नेतृत्व गर्ने अनुभवी पृष्ठभूमीकी हैनन्। उनी नाइटिङ्गेल स्कुलकी प्रिन्सिपल हुन्। नाइटिङगेलमा खेलकुद मन्त्री तेजुलाल चौधरी आफैँ लगानीकर्ता समेत हुन्। प्रधान राखेपमा नियुक्त भए लगत्तै विवादमा तानिएकी थिइन्। छानबिनको दायरामा रहेको विषयबारे उनले यति हल्का टिप्पणी गर्नुले नै उनी छानबिनको नेतृत्वका लागि कति योग्य छिन् देखाउँछ नै।
जेठ २७, २०८२ मंगलबार २३:०९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।