‘महाभोज’को प्रिमियर हेर्दा दर्शकले सम्झिए ‘आगो’ चलचित्र

‘महाभोज’को प्रिमियर हेर्दा दर्शकले सम्झिए ‘आगो’ चलचित्र

पोखरा : निर्देशक दिनेश राउतको चलचित्र 'महाभोज'को पोखरामा सोमबार भव्य प्रिमियर सम्पन्न भएको छ। प्रिमियरमा  मुख्य कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ सहित निर्देशक दिनेश राउत र निर्माता हिमाल कडरियाको उपस्थिति थियो।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी दुर्गादेवी शर्मा, सहकारी पीडितहरू, विभिन्न क्षेत्रका व्यक्तित्वहरू र पत्रकारहरूले चलचित्र हेरे।

चलचित्र हेरेपछि दर्शकले कथानक, प्रस्तुति शैली र कलाकारहरूको अभिनयको व्यापक प्रशंसा गरे। 

चलचित्रको परिवेशमा डुबेका दर्शकहरूले उच्च स्वरमा आक्रोश व्यक्त गर्दै भने कि 'महाभोज'ले विगतमा 'आगो' चलचित्रले झैं विद्रोह जन्माउन सक्ने क्षमता राखेको छ। उनीहरूले यस चलचित्रमा सत्ताधारीहरूलाई हल्लाउन सक्ने शक्ति रहेको विश्वास व्यक्त गरे।

केही दर्शकले कुनै दबाबमा चलचित्रका दृश्यहरू काटछाँट गरिए त्यसको विरुद्धमा उभिने बताए। 'महाभोज'ले सहकारी पीडितहरूको कथालाई विस्तृत रूपमा प्रस्तुत गरेको छ। काठमाडौंमा केही दिनअघि आयोजित प्रिभ्यु शोमा पनि दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए। दर्शकहरूले चलचित्र मनोरञ्जक रहेको समेत बताएका छन्।

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा निर्माता हिमाल कडरियाले निर्माण गरेको यस चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।

चलचित्र 'महाभोज' यही शुक्रवार जेठ ३० गते देशभर प्रदर्शनमा आउने छ। पोखराको सफल प्रिमियरपछि बुटवल, विराटनगर र धरानमा पनि क्रमशः प्रिमियर आयोजना हुने कार्यक्रम छ।

जेठ २७, २०८२ मंगलबार २१:३८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।