चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नाडा

काठमाडौं : नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले चीनको चोङकिङमा आयोजित चीन अटो चोङकिङ शिखर सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गरेको छ।
चीनमा आयोजित यस सम्मेलनमा "संक्रमणकालीन उद्योगको भविष्यलाई आकार दिने" मुख्य विषयवस्तुमा केन्द्रित रहेर नयाँ ऊर्जा र स्मार्ट प्रविधिमा संक्रमणका बारेमा विश्वव्यापी छलफल भएको थियो।
नाडाका अध्यक्ष करण चौधरीले चीन-आसियान सत्रमा प्यानलिस्टको रूपमा सहभागिता जनाउँदै नेपालको अटोमोबाइल क्षेत्र, व्यापारिक सम्भावना र क्षेत्रीय सहयोगका अवसरहरूबारे आफ्ना विचारहरू राखेका थिए। यसैगरी, अध्यक्ष चौधरीले दुईवटा उच्चस्तरीय बन्द सत्रहरूमा पनि सहभागिता जनाए।
कार्यक्रममा दिगो यातायात र विद्युतीय सवारी साधनको प्रवर्द्धन लगायत चीन-आसियान इभी सहयोगका बारेमा छलफल भएको थियो। सम्मेलनमा बहुपक्षीय लगानी र व्यापार नीतिमा सहयोगका सम्भावनाहरूबारे प्रतिनिधि संवाद पनि आयोजना गरिएको थियो।
नाडाले सम्मेलनमा स्टल स्थापना गरेर नेपालको व्यापार प्रवर्द्धन गरेको थियो। यसमा नेपालका विद्यमान बजार अवसरहरू, नीतिगत अवस्था र वातावरण, र यस साउनमा काठमाडौंमा आयोजना हुने नाडा अटो शो २०२५ का बारेमा जानकारी प्रदान गरिएको थियो।
नाडाको सहभागिताले नेपालको क्षेत्रीय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा थप सहयोग पुगेको छ। सम्मेलनमा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती, केन्द्रीय कार्यसमिति सदस्यहरू प्रकाश कपुरी, यमुना श्रेष्ठ र आमन्त्रित केन्द्रीय कार्यसमिति सदस्यहरू अनुप कुमार बराल र नारायण प्रसाद पौडेलले सहभागिता जनाएका थिए।
जेठ २७, २०८२ मंगलबार २१:२१:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।